हेटौँडामा प्रहरी अस्पताल भवनको शिलान्यास

संवाददाता
२०८२ असार ३१, मंगलवार १३:२२

हेटौँडा। प्रहरी अस्पताल सञ्चालन गर्नका लागि हेटौँडामा भवन निर्माणको शिलान्यास गरिएको छ । बागमती प्रदेश सरकारको लगानीमा निर्माण हुने भवनको मंगलबार बिहान शिलान्यास गरिएको छ ।

हेटौँडा उपमहानगरपालिका–१७, हटियामा निर्माण हुने बागमती प्रदेश प्रहरी अस्पताल भवनको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले शिलान्यास गर्नुभयो । मन्त्री लामिछानेले अस्पताल निर्माणपछि प्रहरी कर्मचारीसँगै स्थानीय बासिन्दासमेत लाभान्वित हुने बताउनुभयो । प्रदेशको सुरक्षाको विषयमा सरकार गम्भीर रहेकाले नागरिक तथा प्रहरीलाई लक्षित गरेर अस्पताल निर्माण थालिएको उहाँले बताउनुभयो ।

बागमती प्रदेश प्रहरी कार्यालय मार्फत कार्यान्वयन हुने आयोजनाअन्तर्गत अस्पताल परिसरमा बहिरंग विभागको कक्ष, कर्मचारी आवास, अस्पताल परिसरको घेराबार, डिप बोरिङ, पार्किङलगायतका अस्पतालका संचरनाहरु पहिलो चरणमा बन्नेछ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट विनियोजित बजेटबाट सुविधा सम्पन्न ३० शैय्याको अस्पताल बनाउने योजना अनुसार पहिलोचरणमा १५ शैय्याको अस्पताल निर्माण थालिएको हो ।

आगामी २०८३ पुस १८ गतेभित्रमा सम्पन्न गर्नेगरी मूल्य अभिवृद्धि करसहित ८ करोड ३ लाख ७१ हजार रुपैयाँ लागतमा अस्पताल भवन निर्माण गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको छ । अस्ताल भवनको पहिलो चरणको निर्माण पूरा भएपछि अन्तरङ्गसँगै बहिरंग सेवा सञ्चालन गरिने प्रदेश अस्पतालका चिकित्सक प्रहरी नायव उपरीक्षक डा. प्रयास बिडारीले बताउनुभयो । हाल बागमती प्रदेश प्रहरी अस्पतालले हेटौंडा–१५ स्थित रातोमाटे गणबाट प्रहरी कर्मचारीलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*