मातातिर्थ –चखेल –फाखेल सडक २८ वर्षदेखि अधुरै

सबथोक
२०८३ जेष्ठ ५, मंगलवार १२:३०

बागमती प्रदेश राजधानी हेटौंडा र संघीय राजधानी काठमाडौं जोड्ने सबैभन्दा छोटो दुरीको वैकल्पिक मार्ग ‘फाखेल-चखेल-मातातीर्थ-सतुंगल’ सडक खण्डको ट्रयाक निर्माण सुरु २८ वर्षअघि (२०५५) भएको थियो । १४ किलोमिटर यो सडकको ट्रयाक १२ वर्ष लगाएर २०७६ मा खुलेको थियो । 

यसपछि सडक स्तरोन्तीको जिम्मा २०७६ सालमा बागमती प्रदेश सरकारले लिएको थियो । ६ वर्षदेखि यो सडक खण्ड निरन्तर बनिरहेको छ तर कहिले सम्पन्न हुने हो अझै टुंगो छैन ।

प्रदेश सडक गुरुयोजनामा समेटिएको १४.४ किलोमिटर सडकलाई मकवानपुर र काठमाडौं गरी दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ । काठमाडौं खण्डअन्तर्गत मकैबारीदेखि मातातीर्थसम्मको ८.१ किलोमिटर सडक निर्माणको गति निकै सुस्त छ । यो खण्ड निर्माणको ठेक्का पूर्वाधार विकास कार्यालय ललितपुरमार्फत अमर कन्स्ट्रक्सनले २०७६ सालमा भ्याटसहित करिब २८ करोड रुपैयाँमा लिएको थियो ।

पाँचपटक म्याद थप्दा पनि काम नसकिएपछि प्रदेश सरकारले निर्माण कम्पनीलाई ठेक्का रकमको १० प्रतिशत जरिवाना लगाएको पूर्वाधार विकास कार्यालय ललितपुरका प्रमुख राजु श्रेष्ठले बताए । ‘साढे २ करोडभन्दा बढी जरिवाना ठेक्काको रकमबाट काटिने छ,’ उनले भने ।  

यसअघि म्याद थप गर्न नखोज्दा कम्पनीले दाबीविरोध गरेपछि वैशाख मसान्तसम्म काम सक्नेगरी समय थपिएको थियो । यो समय पनि गुज्रिएको छ । निर्माण कम्पनीलाई कार्यालयले नियमअनुसार कारबाही अगाडी बढाएको छ । निर्माण कम्पनीले कालोपत्रे गर्न सडकमा बेस हालिसकेको छ । यसको भौतिक प्रगति ६७ प्रतिशत र वित्तीय प्रगति ६६ दशमलव ०२ प्रतिशत रहेको छ ।

मकवानपुर खण्डअन्तर्गत महालक्ष्मी खोलादेखि चखेल–मकैबारीसम्मको ६.३ किलोमिटर सडक निर्माण अन्तिम चरणमा छ । सदाशिव हिमाल कन्स्ट्रक्सनले १८ करोड ४६ लाख रुपैयाँमा ठेक्का लिएको उक्त खण्डको ९२ प्रतिशत भौतिक प्रगति छ ।

पूर्वाधार विकास कार्यालय मकवानपुरका प्रमुख ईन्जिनियर सुजन भण्डारीका अनुसार यस खण्डमा साढे ३ किलोमिटर सडक कालोपत्रे र ढलान भइसकेको छ । बाँकी साढे २  किलोमिटर सडक जेठ महिनाको अन्तिमसम्ममा सम्पन्न गर्ने लक्ष्य छ । यस खण्डको म्याद जेठ २५ गतेसम्म रहेको छ ।

महालक्ष्मी खोलादेखि काठमाडौंको कलंकीसम्म करिब २० किलोमिटर मात्र दुरी रहने यो सडक हेटौंडा–काठमाडौं जोड्ने अन्य मार्गहरू(सिस्नेरी—दक्षिणकाली, एवं फाखेल—फर्पिङ र कान्तिलोक पथको साथै चित्लाङ, चन्द्रागिरी, थानकोट सडक) भन्दा छोटो छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*