थानकोट-चन्द्रागिरी-चित्लाङ सडक दुई साता बन्द
काठमाडौंलाई मकवानपुर हुँदै हेटौँडासँग जोड्ने महत्वपूर्ण थानकोट–चन्द्रागिरी–चित्लाङ सडक खण्ड दुई साताका लागि पूर्ण रूपमा बन्द हुने भएको छ ।
सडक डिभिजन कार्यालय, काठमाडौंले निर्माण तथा स्तरोन्नति कार्यलाई तीव्र र प्रभावकारी रूपमा सम्पन्न गर्न जेठ १७ गतेदेखि ३० गतेसम्म सडक बन्द गरिने जनाएको हो ।
सडक डिभिजन कार्यालयले चन्द्रागिरी नगरपालिका र थाहा नगरपालिकालाई पत्राचार गर्दै पानीघट्टदेखि चित्लाङ बजारसम्मको सडक खण्ड १४ दिनका लागि पूर्ण रूपमा बन्द रहने जानकारी दिएको छ । उक्त पत्रअनुसार निर्माणाधीन सडक क्षेत्रमा भइरहेको प्राविधिक कामका कारण सवारी सञ्चालन गर्दा दुर्घटनाको जोखिम बढ्ने भएकाले अस्थायी रूपमा सडक बन्द गर्ने निर्णय गरिएको हो ।
कार्यालयका अनुसार थानकोट–चित्लाङ सडकखण्डमा अहिले सडक सुधार, कटिङ, ढलान, नाली निर्माण तथा अन्य स्तरोन्नति कार्य भइरहेको छ । तर सडकको भौगोलिक अवस्था जटिल हुनु, साँघुरा घुम्ती तथा भीरयुक्त क्षेत्र धेरै हुनुका साथै निर्माणस्थल हुँदै सवारीसाधन सञ्चालन भइरहँदा निर्माण कार्यमा अवरोध पुगेको बताइएको छ ।
विशेषगरी भारी निर्माण सामग्री ओसारपसार, सडक फराकिलो बनाउने कार्य तथा ढलान भइरहेका स्थानमा सवारी सञ्चालन गर्दा दुर्घटनाको सम्भावना उच्च देखिएको सडक डिभिजन कार्यालयको भनाइ छ । त्यसैले निर्माण कार्यलाई निर्धारित समयमै सम्पन्न गर्न र यात्रु तथा कामदारको सुरक्षालाई ध्यानमा राख्दै सडक पूर्ण रूपमा बन्द गर्ने निर्णय गरिएको जनाइएको छ ।
सडक डिभिजन कार्यालय काठमाडौंका डिभिजन प्रमुख इ. सुवोधकुमार देवकोटाद्वारा हस्ताक्षर गरिएको पत्रमा निर्माण कार्य अवधिभर वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ। स्थानीय तह, प्रहरी प्रशासन तथा सम्बन्धित निकायसँग समन्वय गरी यात्रुलाई आवश्यक सूचना तथा सहजीकरण गर्ने तयारीसमेत गरिएको कार्यालयले जनाएको छ ।
यस अवधिमा चित्लाङ हुँदै यात्रा गर्ने सवारीसाधनलाई अन्य वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ । स्थानीय बासिन्दा, यातायात व्यवसायी तथा सर्वसाधारणलाई सडक बन्दबारे समयमै जानकारी गराउन तथा निर्माण कार्यमा सहयोग पुर्याउन चन्द्रागिरी नगरपालिका र थाहा नगरपालिकासँग आग्रह गरिएको छ।
थानकोट–चित्लाङ सडक संघीय राजधानी काठमाडौंबाट छोटो दूरी हुँदै मकवानपुर पुग्ने प्रमुख मार्गमध्ये एक मानिन्छ । पछिल्लो समय आन्तरिक पर्यटन, कृषि उत्पादन ढुवानी तथा स्थानीय आवागमनका लागि यो सडकको प्रयोग बढ्दो छ । विशेषगरी चित्लाङ, कुलेखानी र आसपासका पर्यटकीय क्षेत्र पुग्ने यात्रुका लागि यो सडक महत्वपूर्ण रहेको छ । निर्माण अवधिभर यात्रुहरूले केही असहजता भोग्नुपर्ने भएकाले वैकल्पिक मार्ग प्रयोग गरी यात्रा व्यवस्थापन गर्न आग्रह गरिएको छ ।











