नागरिकता नहुँदा वृद्धभत्ताबाट वञ्चित
हेटौंडा — नागरिकता नहुँदा जिल्लास्थित चेपाङ समुदायका अधिकांश वृद्धवृद्धा सामाजिक सुरक्षा भत्ताबाट वञ्चित भएका छन् । यसरी मर्कामा पर्नेमध्ये कैलाश गाउँपालिका–७, गार्लिङकी फूलमाया चेपाङ पनि हुन् । अहिले उनी ७१ वर्षकी भइन् । सात छोराछोरीकी आमा र २३ नातिनातिनाको हजुरआमा बनिसकेकी उनको अहिलेसम्म नागरिकता छैन ।
नागरिकता बनाउन सिफारिसका लागि दुई पटक कैलाश–७, ताम्लाङस्थित वडा कार्यालय पुगिसकिन् । तर, सिफारिस पाउन सकिनन् । चार वर्षअघि नागरिकता नबनाएरै पति सोमलालको मत्यु भइसक्यो । माइतीमा पनि आमा–बुवा र दाजुभाइ कोही नभएकाले सिफारिसपत्रका लागि आवश्यक कागजात जुटाउन नसकेपछि उनको नागरिकता बन्न सकेन । ‘नागरिकता भइदिएको भए त सरकारले दिने वृद्धभत्तासम्म खान पाइन्थ्यो,’ उनले भनिन्, ‘नागरिकता नभएर भत्ता पाइनँ ।’ नेपाली बुझे पनि उनी चेपाङ भाषामै कुरा गर्छिन् । उनका तीन छोराले नागरिकता बनाइसके । छोरीहरू विवाह गरेर गइसके । उनको भने अझै नागरिक बनेको छैन ।
गत फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रचार गर्न घरमा आएका उम्मेदवारसित फूलमायाले नागरिकता नपाएको दुखेसो सुनाएकी थिइन् । अहिले उनी कान्छा छोराको घरमा बस्छिन् । छोरा पनि कामको खोजीमा चितवन गएका छन् । बुहारीले दिउँसो ज्यालादारी गरेर ल्याएको पैसाले मकैको पिठो किनेर पेट भर्ने गरेको उनले बताइन् । कैलाश–७ का वडाध्यक्ष उदास ब्लोनले फूलमायाका माइती र घरतर्फका आफन्त कोही नभएकाले सिफारिस दिन नसकिएको बताए । ‘छोराहरूले पहिलाको बावुका तर्फबाट नागरिकता बनाएका रहेछन्,’ उनले भने, ‘फूलमायाले सोमलालसँग दोस्रो विवाह गरेकी हुन्, कागज जुटाउनै सकिएन ।’
जिल्लास्थित कैलाश र राक्सिराङ गाउँपालिकाका दुर्गमका करिब ३० प्रतिशत चेपाङ समुदाय नागरिकताविहीन छन् । ‘कैलाश गाउँपालिकामा पर्ने साविकको भार्ता, कालिकाटार, नामटार, डाँडाखर्क, गोगनेमा बसोवास गर्नेमध्ये ३० प्रतिशत स्थानीय नागरिकताविहीन छन् । राक्सिराङ र कैलाश गाउँपालिकाका ३० प्रतिशत चेपाङ समुदाय नागरिकताविहीन रहेको नेपाल चेपाङ संघका अध्यक्ष गोविन्दराम चेपाङले बताए । उनका अनुसार ५० वर्षमाथि उमेरका व्यक्ति नागरिकताविहीन छन् । नागरिकता नभएकाले अधिकांश वृद्धवृद्धा चेपाङहरू सामाजिक सुरक्षा भत्ताबाट वञ्चित हुँदै आएका छन् । उनीहरू अत्यन्त विपन्न छन् तर राज्यले दिएको सामाजिक सुरक्षा भत्ता पनि उनीहरूले पाउन सकेका छैनन् ।
राक्सिराङमा पर्ने साविकको खैराङ, काकडा, सरिखेत, राक्सिराङ गाविसका बासिन्दा पनि नागरिकताविहीन छन् । ‘गाउँपालिकामा रहेका ३० प्रतिशतभन्दा बढी चेपाङहरू नागरिकताविहीन छन्,’ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले भने, ‘देश जानु पर्यो भनेमात्र नागरिकता बनाउने गर्छन्, नत्र नागरिकता बनाउँदैनन् ।’
दुवै गाउँपालिका अध्यक्षले दुर्गममा नागरिकता वितरणका लागि घुम्ती शिविर संचालन गर्न जिल्ला प्रशासन कार्यालयसमक्ष माग गरिरहेका छन् । चेपाङ समुदाय नागरिकताविहीन मात्र छैनन् । उनीहरूमध्ये अधिकांश लालपुर्जाविहीन छन् । चेपाङ समुदायमध्ये २५ प्रतिशतमात्र साक्षर छन् । २०७८ को जनगणना अनुसार मुलुकमा ८४ हजार ३ सय ६४ चेपाङको जनसंख्या छ । जसमध्ये मकवानपुरमा २३ हजार ६ सय ५०, चितवनमा ३५ हजार ६ सय ३७ चेपाङको बसोबास छ । अहिले २६ वटा जिल्लामा उनीहरू पुगेका छन् । ईकान्तिपुरबाट










