स्थानीय स्वास्थ्य संस्था स्तरोन्नति हुन्छ:- स्वास्थ्य मन्त्री थापा
हेटौंडा। बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले प्रदेशका सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्। स्वास्थ्य मन्त्रालयद्वारा हेटौंडामा आयोजित पत्रकार सम्मेलन एवम् स्वास्थ्य निर्देशनालयको आर्थिक वर्ष २०८१/०८२ को अर्धवार्षिक समीक्षा तथा आगामी आर्थिक वर्ष २०८२/०८३ को योजना तर्जुमा गोष्ठीको समापन सत्रमा सम्बोधन गर्दै उनले प्रदेशका अस्पतालहरूमा बिरामीको चाप उच्च रहेको बताउँदै स्वास्थ्य सेवा विस्तारका लागि प्रदेश सरकारले काम गरीरहेको बताउनुभयो ।
मन्त्री थापाका अनुसार प्रदेशका सबैजसो अस्पतालमा सिटी स्क्यान सेवा उपलब्ध गराउने योजनाका साथ सरकार अगाडि बढिरहेको छ। उनले प्रदेशका ग्रामीण भेगका नागरिकलाई समेत स्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन स्थानीय स्तरका स्वास्थ्य संस्थाहरूको स्तरोन्नति गरिने जानकारी दिए। यसै क्रममा, पाँच स्वास्थ्य संस्थालाई प्रादेशिक अस्पतालका रूपमा विकास गर्ने प्रक्रिया अघि बढाइएको समेत उनले उल्लेख गरे।
मन्त्री थापाले प्रदेश सरकार डिजिटल व्यवस्थापनमा अघि बढिरहेको उल्लेख गर्दै स्वास्थ्य सेवामा पेपरलेस प्रविधिको प्रयोग बढाइने बताए। उनले भने “स्वास्थ्य संस्थाहरूको दर्ता तथा नवीकरण जस्ता कामहरू अनलाइनमार्फत गरिनेछ। बिरामीहरूको चाप व्यवस्थापन गर्न अस्पतालहरूमा अनलाइन टिकट तथा रिपोर्ट लिने प्रणाली लागू गरिएको छ ।”
त्यस्तै, मन्त्री थापाले अनलाइनमार्फत निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरूको दर्ता तथा नवीकरण गर्ने प्रविधिको शुभारम्भ गर्दै सेवाग्राहीलाई थप सहजता प्रदान गर्ने उनको भनाइ छ।
संघीयताको कार्यान्वयनसँगै स्वास्थ्य, शिक्षा तथा भौतिक पूर्वाधार क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको मन्त्री थापाले बताए। संघीयताले नागरिकको मौलिक हकको प्रत्याभूति गर्दै स्वास्थ्य सेवामा पहुँच वृद्धि गरेको उनको धारणा थियो।
उनले नागरिक लक्षित सेवा प्रवाहलाई प्राथमिकता दिइएको बताए। प्रदेश सरकारले ग्रामीण क्षेत्रका नागरिकको पहुँचमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले विभिन्न नीति तथा कार्यक्रम अगाडि बढाएको जानकारी उनले गराए।
उनका अनुसार टेलिमेडिसिन सेवा विस्तार गरी प्रादेशिक अस्पतालहरूलाई प्रविधियुक्त स्वास्थ्य संस्थासँग जोडेर विशेषज्ञ डाक्टरहरूमार्फत उपचार सेवा प्रदान गर्ने तयारी भइरहेको छ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. प्रदीप ज्ञवालीले प्रतिष्ठान र अस्पतालहरूबीच कुनै विवाद नरहेको प्रष्ट पार्दै प्रतिष्ठान प्रदेश सरकारको गौरवको आयोजना भएको बताए। उनले अस्पतालको नयाँ भवन निर्माणपछि थप २०० शय्या विस्तार गरी सेवा प्रवाहलाई अझ प्रभावकारी बनाइने बताए।










