मकवानपुर जिल्ला पूर्ण खोप सुनिश्चित घोषित

संवाददाता
२०८३ असार २२, सोमबार १३:०४


हेटौँडा । मकवानपुर जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले मकवानपुरलाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्नुभयो ।
मन्त्री थापाले यस कार्यमा खटिने महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, पालिकाका स्वास्थ्य शाखा प्रमुख र जनस्वास्थ्य कार्यालय मकवानपुरको प्रशंसा समेत गर्नुभएको थियो । मन्त्री थापाले विस्तारित खोप कार्यक्रमकै कारण आज देशमा बाल मृत्युदर उल्लेख्य रूपमा घटेको बताउनुभयो ।
खोप कार्यक्रमकै कारण जन्मिएको दिनदेखि १५ महिनासम्मका हाम्रा बालबालिकालाई १३ प्रकारका खोप लगाएका कारण आज बाल मृत्युदर घटेको छ । खोपको महत्त्व कति छ भन्ने कुरा कोभिड–१९ को महामारीमा भ्याक्सिन आएपछि मात्रै कोरोना नियन्त्रण भएको तथ्यले पनि पुष्टि गर्छ।उहाँले भन्नुभयो ।

उहाँले महिलाहरूमा हुने पाठेघरको मुखको क्यान्सरबाट बच्न गत वर्षदेखि सरकारले सुरु गरेको एचपिभी भ्याक्सिनले आगामी केही वर्षभित्रै यो क्यान्सरबाट हुने मृत्युदरलाई न्युन गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । बागमती प्रदेशका १३ वटै जिल्लामा जिल्ला तहको खोप सुनिश्चितता घोषणा भइसकेपछि अब चाँडै प्रदेश स्तरकै पूर्ण खोप सुनिश्चितता घोषणा कार्यक्रम गरिने उहाँले जानकारी दिनुभयो।
घोषणा समारोहकै अवसरमा मन्त्री थापाले मदन भण्डारी स्वास्थ्य बिज्ञमा प्रतिष्ठान हेटौँडा अस्पतालमा हाल दैनिक १ हजार ७ सयदेखि १ हजार ८ सय जना बिरामीले ओपिडी सेवा लिइरहेको हेटौँडा अस्पतालमा साउन महिनादेखि बिहान ८ बजेदेखि नै ओपिडी सुरु गर्ने र ’फास्ट ट्र्याक’ ओपिडी सेवा थप गरिने उहाँले घोषणा गर्नुभयो। बजेटमा हेटौँडा अस्पतालका लागि विशिष्टीकृत सेवा विस्तार र क्याथल्याब मेसिन खरिदका लागि विशेष बजेट विनियोजन गरिएको छ ।
मुटुरोग हुँदा प्रत्येक मिनेट र सेकेन्डको ठुलो महत्त्व हुने भन्दै हेटौँडाबाट बिरामीलाई भरतपुर वा काठमाडौँ लैजाँदा लैजाँदै धेरैले बाटोमै ज्यान गुमाउने उच्च जोखिम रहेकोले केही महिनाभित्रै हेटौँडा अस्पतालमै क्याथल्याब स्थापना भई मुटुरोगको उपचार सुरु हुने बताउनुभयो ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालले बिरामीको चापलाई ध्यानमा राख्दै अस्पतालमा हालै १५ वटा डायलिसिस मेसिन थप गरी कुल ३० वटा मेसिन पु¥याइएको र अब मकवानपुरमा डायलिसिसका लागि बिरामीहरूले पालो पर्खिनु नपर्ने पनि उहाँले बताउनुभयो ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत प्रतिष्ठानमा ब्याचलर तहका ४ वटा संकाय र एमबिबिएस र एमडीको अध्यापन सुरु भइसकेको भन्दै उहाँले हेटौँडालाई देशकै प्रमुख स्वास्थ्य ’हब’ बन्ने उहाँको भनाइ थियो । कार्यक्रममा पालिकास्तरका एक एक जना स्वयम्सेविकाहरुलाई सम्मान गरिएको थियो ।


कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका मेयर मिना लामा, प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक वसन्त अधिकारी, स्वास्थ्य निर्देशनालयका निर्देशक डा. नरेन्द्र कुमार झा, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानभाट, गैसस मकवानपुरका अध्यक्ष रमिला सापकोटा र हेटौँडा–२ का वडाध्यक्ष विष्णुगोपाल महर्जन लगायतको आतिथ्यता रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*