सेमिफाइनल दौडमा युरोपियन राष्ट्रको दबदबा

सबथोक
२०८३ असार २५, बिहीबार १२:३४

उत्तर अमेरिकी राष्ट्रले आयोजना गरिरहेको फिफा विश्वकपको क्वार्टरफाइनल पुग्ने धेरै टोली युरोपियन राष्ट्रका छन् । युरोपका ६ राष्ट्रले सेमिफाइनल प्रवेशको प्रतिस्पर्धामा आफूलाई उभ्याएका छन् । दक्षिण अमेरिकाबाट साबिक विजेता अर्जेन्टिना र अफ्रिकाबाट मोरोक्कोले मात्र अन्तिम आठमा स्थान पक्का गरेका छन् । प्रतियोगिताको अन्तिम प्रिक्वार्टरफाइनल खेल स्विट्जरल्यान्ड र कोलम्बियाबिच भयो । फ्रान्स, स्पेन, बेल्जियम, नर्वे, इंग्ल्यान्ड र स्विट्जरल्यान्डले युरोपको प्रतिनिधित्व गरेका छन् । सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरोक्कोबिच पहिलो खेल हुनेछ । स्पेनले बेल्जियमको सामना गर्नेछ । नर्वे र इंग्ल्यान्डबिच तेस्रो क्वार्टरफाइनल खेल हुनेछ । अन्तिम खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डको सामना गर्नेछ ।

१. अर्जेन्टिना 
कप्तान लियोनल मेसीको प्रेरणादायी प्रदर्शनमा अर्जेन्टिनाले प्रतियोगितामा आफ्नो अपराजित यात्रा कायम राखेको छ । अन्तिम आठमा पुग्ने अर्जेन्टिना दक्षिण अमेरिकाकै एक्लो टोली हो । अर्जेन्टिनाले लगातार दुई खेलमा जित निकाल्न संघर्ष गर्नुपर्‍यो । अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध हारनजिक पुगेको अर्जेन्टिनाले उत्कृष्ट कम ब्याक गरी जित हात पार्‍यो । मेसीले प्रतियोगितामा सर्वाधिक आठ गोल गरेका छन् । उनलाई एन्जलो फर्नान्डेज, रोड्रिगो डी पाउल, जुलियन अल्भारेज, लौटारो मार्टिनेज, लिसान्द्रो मार्टिनेज, क्रिस्टियन रोमेरोको साथ छ । अर्जेन्टिना लगातार उपाधि जित्ने अभियानमा छ । अर्जेन्टिनाले राउन्ड अफ ३२ मा केप भार्डेविरुद्ध ३–२ को जित हात पारेको थियो । यसअघि समूह ‘जे’मा अर्जेन्टिनाले अल्जेरियालाई ३–०, अस्ट्रियालाई २–० तथा जोर्डनलाई ३–१ ले हराएको थियो । 

२. फ्रान्स 
कप्तान केलिएन एम्बाप्पेसहित, औसमाने डेम्बेले, माइकल ओलिसे र ब्राड्ली बार्कोलाजस्ता खेलाडीको सानदार प्रदर्शनमा फ्रान्सले सहजै अन्तिम आठमा स्थान बनायो । दुईपटकको च्याम्पियन फ्रान्स प्रतियोगिताकै साबिक उपविजेता हो । फ्रान्सले अन्तिम १६ मा पाराग्वेमाथि १–० को जित निकालेको थियो । प्रतियोगितामा अपराजित रहेको फ्रान्सले नकआउटको पहिलो खेलमा स्विडेनलाई ३–० ले हरायो । समूह ‘जे’मा रहेको फ्रान्सले सेनेगललाई ३–१, इराकलाई ३–० र नर्वेलाई ४–१ ले हराएको थियो ।

३. मोरोक्को 
अफ्रिकन राष्ट्र मोरोक्कोले पछिल्लो दुई संस्करणमा अविश्वसनीय प्रदर्शन गरिरहेको छ । सन् २०२२ मा अप्रत्याशित नतिजा निकाली मोरोक्कोले सेमिफाइनलमा स्थान बनाएको थियो । मोरोक्को अफ्रिकी १० मध्ये अन्तिम आठमा पुग्ने एक्लो टोली हो । छैटौँपटक विश्वकप खेलिरहेको मोरोक्कोले सेमिफाइनलमा स्थान बनाउन फ्रान्सलाई पछ्याउनुपर्नेछ । कप्तान अचराफ हाकिमी र इस्माइल साइबरीले राम्रो खेलिरहेका छन् । मोरोक्कोले अन्तिम १६ को खेलमा सहआयोजक क्यानडालाई हराएको थियो । राउन्ड अफ ३२ मा उसले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा पाखा लगायो । समूह ‘सी’को खेलमा ब्राजिलसँग १–१ को बराबरी खेलेको मोरोक्कोले स्कटल्यान्डलाई १–० र हाइटीलाई ४–२ ले हराएको थियो ।

४. स्पेन 
२०१० को च्याम्पियन स्पेन १२ वर्षपछि क्वार्टरफाइनलमा पुगेको छ । टिकी–टाका शैलीमा प्रतिस्पर्धा गरिरहेको स्पेनी टोलीमा युवा खेलाडीको बाहुल्य छ । अनुभवी मिडफिल्डर रोड्रीको कप्तानीमा रहेको स्पेन दोस्रोपटक उपाधि जित्ने योजनामा छ । लामिन यामल, पेड्री, निको विलियम्स, कुवार्सी, डानी ओल्मो, एलेक्स बाइना, मिकल ओयर्जाबालको साथ पाएको स्पेन दोस्रोपटक सेमिफाइनलमा प्रवेश गर्न चाहन्छ । उसले युरोपकै बलियो राष्ट्र बेल्जियमलाई पाखा लगाउनुपर्नेछ । स्पेनले प्रिक्वार्टरफाइनलमा पोर्चुगललाई १–० ले हराएको थियो । स्पेनले राउन्ड अफ ३२ मा अस्ट्रियालाई ३–० ले पाखा लगाएको थियो । समूह ‘एच’मा केप भार्डेसँग गोलरहित बराबरी खेल्दा स्पेनले साउदी अरेबियालाई ४–० तथा उरुग्वेलाई १–० ले हराएको हो ।

५. नर्वे 
२८ वर्षपछि विश्वकपमा स्थान बनाएको नर्वेले चालू विश्वकपमा सनसनी प्रदर्शन गरिरहेको छ । नर्वेले प्रिक्वार्टरफाइनलमा पाँचपटकको विजेता ब्राजिललाई २–१ ले स्तब्ध बनायो । अब नर्वेले सेमिफाइनलमा स्थान बनाउन इंग्ल्यान्डसँग खेल्दै छ । युवा स्ट्राइकर एर्लिङ हाल्यान्ड उत्कृष्ट फर्ममा छन् । नर्वेले अन्तिम ३२ मा भने आइभरी कोस्टलाई २–१ ले हराएको थियो । उसले समूह ‘आई’मा इराकलाई ४–१ र सेनेगललाई ३–२ ले हराएर एक खेलअघि नै नकआउटमा स्थान बनाएको थियो । समूहको अन्तिम खेलमा नर्वे फ्रान्सँग ४–१ ले पराजित भयो ।

६. इंग्ल्यान्ड 
कप्तान ह्यारी केनको साथ पाएको इंग्ल्यान्डले विश्वकपमा लगातार उत्कृष्ट प्रदर्शन गरिरहेको छ । केनसँगै जुड वेलिंघम, मार्कुस रसफोर्ड, एन्थोनी गोर्डन, बुकायो साका उत्कृष्ट फर्ममा रहँदा इंग्ल्यान्ड अपराजित छ । इंग्ल्यान्ड लगातार तेस्रोपटक क्वार्टरफाइनलमा पुगेको हो । २०१८ को विश्वकपमा इंग्ल्यान्ड चौथो भएको थियो । सन् १९६६ को च्याम्पियन इंग्ल्यान्ड दोस्रोपटक ट्रफी उठाउने योजनामा छ । समूह ‘एल’मा इंग्ल्यान्डले क्रोएसियालाई ४–२ र घानासँग गोलरहित बराबरी खेलेको थियो । समूहको अन्तिम खेलमा इंग्ल्यान्डले पानामालाई २–० ले हरायो । नकआउटमा कंगोलाई २–१ र प्रिक्वार्टरफाइनलमा सहआयोजक मेक्सिकोलाई ३–२ ले हराउन सफल भयो ।

७. बेल्जियम 
सन् २०१८ को विश्वकपयता बेल्जियमको टोलीलाई गोल्डेन जेनेरेसन मानिएको छ । तर, बेल्जियम मुख्य खेलमा लगातार चुक्ने गरेको छ । २०१८ को संस्करणमा बेल्जियम तेस्रो भएको थियो । यही नै उसको उत्कृष्ट प्रदर्शन हो । बेल्जियमले अब क्वार्टरफाइनलमा स्पेनको सामना गर्नेछ । बेल्जियमले अन्तिम १६ मा आयोजक अमेरिकालाई ४–१ तथा नकआउटको पहिलो खेलमा सेनेगललाई ३–२ ले हराएको थियो । यसअघि समूह ‘जी’मा बेल्जियम पहिलो खेलमै इजिप्टसँग १–१ र इरानसँग गोलरहित बराबरीमा रोकिएको थियो । समूहको अन्तिम खेलमा न्युजिल्यान्डविरुद्ध ५–१ को जितसँगै बेल्जियमले राउन्ड अफ ३२ मा स्थान पक्का गर्‍यो ।

८. स्विट्जरल्यान्ड 
कोलम्बियालाई हराएपछि स्विट्जरल्यान्ड अन्तिम आठमा पुग्ने छैटौँ युरोपेली मुलुक बन्यो । तीन गोल गरिसकेका जोहान मान्जाम्बीसहित म्यानुएल एकान्जी, रुवेन बार्गसको सानदार प्रदर्शनसँगै स्विट्जरल्यान्डले ७२ वर्षपछि क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो । उसले सेमिफाइनल प्रवेश खेलमा अर्जेन्टिनाविरुद्ध खेल्नेछ । स्विट्जरल्यान्डले विश्वकपमा तीनपटक क्वार्टरफाइनल खेलेको छ । तर, यस चरणभन्दा माथि पुगेको छैन । अल्जेरियालाई नकआउटमा २–० ले हराएको स्विट्जरल्यान्डले समूहका तीनमध्ये दुई खेल जित्यो । पहिलो खेलमा कतारसँग १–१ को बराबरी खेल्दा स्विट्जरल्यान्डले दोस्रो खेलमा बोस्निया हर्जगोभिनालाई ४–१ र सहआयोजक क्यानडालाई २–१ ले हराएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*