स्वस्थ नागरिक नै समृद्ध समाजको आधार : स्वास्थ्य मन्त्री थापा

सबथोक
२०८३ बैशाख १७, बिहीबार १०:१३

बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले स्वास्थ्य सेवाको पहुँच विस्तारलाई सरकारको प्रमुख प्राथमिकतामा राखिएको बताउनुभएको छ ।

सूर्यविनायक नगरपालिका–८, सिपाडोलमा आज आयोजित स्वास्थ्य चौकी उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले स्थानीय नागरिकहरूको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्नु प्रदेश सरकारको प्रमुख दायित्व भएको स्पष्ट गर्नुभयो ।

उहाँले जनताको सहज पहुँचमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले स्वास्थ्य संरचनाहरू विस्तार गरिएको उल्लेख गर्दै भन्नुभयो, ‘स्वास्थ्य चौकी उद्घाटनको यस महत्वपूर्ण अवसरमा स्थानीय नागरिकहरूको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्नु हाम्रो प्रमुख दायित्व हो, जनताको सहज पहुँचमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले यस्ता स्वास्थ्य संरचनाहरूको विकास गरिएको हो।’

मन्त्री थापाले वाग्मती प्रदेश सरकार स्वास्थ्य क्षेत्रको सुदृढीकरणमा निरन्तर लागिरहेको बताउँदै आधारभूतदेखि विशेषज्ञ सेवासम्म विस्तार गर्ने योजनामा सरकार दृढ रहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार नव–स्थापित स्वास्थ्य चौकीमार्फत स्थानीय बासिन्दाहरूले समयमै उपचार, परामर्श तथा स्वास्थ्य सचेतना सेवा प्राप्त गर्न सक्नेछन् । स्वास्थ्य सेवाको प्रभावकारी विस्तारले ग्रामीण तथा स्थानीय तहमा स्वास्थ्य पहुँच थप सहज हुने उहाँको भनाइ थियो ।

स्वास्थ्यप्रति सबै नागरिक सचेत हुनुपर्नेमा जोड दिँदै उहाँले स्वस्थ नागरिक नै समृद्ध समाजको आधार हुने उल्लेख गर्नुभयो । उहाँले सबैलाई उपलब्ध स्वास्थ्य सेवाको सही उपयोग गर्दै स्वस्थ र समुन्नत समाज निर्माणतर्फ अघि बढ्न आह्वान गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*