पाँच सय वर्ष पुरानो कार्तिके नाच चित्लाङमा सुरु
मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन सोमबार रातिदेखि सुरु भएको छ । कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि अर्थात सोमबारबाट लगातार तीन दिन सञ्चालन हुने कार्तिके नाचमा यसपटक कृष्ण, अनिरुद्ध, उषा, चित्रलेखा र वाणासुरसँग सम्बन्धित पौराणिक कथा माझगाउको डबलीमा प्रस्तुत गरिएको छ ।
माझगाउँको डवलीमा कार्तिके नाच सुरु गर्नु अघिल्लो दिन अर्थात आइतबार राती उक्त गाउँमै रहेको ऐतिहासिक अशोक चैत्य अगाडि देउताहरु रहेको रथ बोकेर मेलाको सुरुवात गरिएको थियो । माझ गाउँको डवलीमा सोमबार रातीदेखि कार्तिके नाच प्रदर्शन गरिएको छ ।
चित्लाङबासी बलामी समुदायलगायत स्थानीय समुदायले वर्षभरि विभिन्न पर्व, जात्रा र सांस्कृतिक परम्परा मनाउँदै आएका छन् । तीमध्ये कार्तिके नाच र स्वच्छन्द भैरवनाथको जात्रालाई चित्लाङको प्रमुख सांस्कृतिक पर्वका रुपमा लिइन्छ । पाँच सय वर्षअघिदेखि निरन्तर रुपमा चल्दै आएको कार्तिके नाच चित्लाङको मौलिक संस्कृति र सामुदायिक पहिचानसँग जोडिएको छ ।
कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि हरेक वर्ष स्थानीय कलाकारले विभिन्न पौराणिक कथालाई नाच तथा नाट्य प्रस्तुतिका रूपमा डबलीमा प्रदर्शन गर्दै आएका छन् । पुस्तौदेखि निरन्तर चल्दै आएको यो परम्परा चित्लाङको मौलिक सांस्कृतिक पहिचान बनेको छ ।
यसवर्षको नाचमा वाणासुरकी छोरी उषा, उनकी सखी चित्रलेखा र कृष्णका नाति अनिरुद्धसँग सम्बन्धित कथा प्रस्तुत हुनेछ । उषाले सपनामा देखेको युवक अनिरुद्ध भएको चित्रलेखाले पहिचान गरेपछि उनलाई शोणितपुर पुर्याएको र त्यसपछि अनिरुद्धलाई वाणासुरले बन्दी बनाएको कथासँगै कृष्ण र वाणासुरबीच भएको युद्धको प्रसँग नाचमा प्रस्तुत गरिने स्थानीय युवक विजय बलामीले बताए ।
पौराणिक कथामा वाणासुरको राजधानीका रुपमा वर्णित शोणितपुरलाई काठमाडौंको थानकोटसँग जोडिएको छ । थानकोटलाई प्राचीन शोणितपुर र चित्लाङलाई चित्रापुरसँग जोड्ने सांस्कृतिक परम्पराले यसवर्ष प्रस्तुत हुने नाचलाई थप विशेष बनाएको छ ।
काठमाडौं उपत्यकालाई मकवानपुर हुँदै दक्षिणी भू–भागसँग जोड्ने पुरानो मार्गमा रहेको चित्लाङ ऐतिहासिक तथा सांस्कृतिक महत्त्वको बस्ती हो । अशोक चैत्य, परम्परागत बस्ती, धार्मिक सम्पदा र नेवार समुदायको मौलिक संस्कृतिले चित्लाङको छुट्टै पहिचान निर्माण गरेको छ ।











