हेटौँडा–१५ मा निःशुल्क खानेपानी, एम्बुलेन्स र रगत सेवा सुरु
हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ ले वडावासीका लागि निःशुल्क खानेपानी, एम्बुलेन्स र रगत सेवा सुरु गरेको छ । वडाले नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिने आधारभूत सेवामा राहत दिने उद्देश्यले यस्तो कार्यक्रम कार्यान्वयनमा ल्याएको जनाएको छ ।
बिहीबार वडा कार्यालयमा आयोजित कार्यक्रममा वडाध्यक्ष सुनिल मोक्तानले मासिक न्यूनतम १० हजार लिटर खानेपानी निःशुल्क उपलब्ध गराउने घोषणा गरेका हुन् । उक्त कार्यक्रम माघ महिनादेखि नै कार्यान्वयनमा आइसकेको उनले जानकारी दिए ।
यस कार्यक्रमबाट वडाभित्रका २ हजार ३०६ घरधुरी प्रत्यक्ष लाभान्वित हुने वडाध्यक्ष मोक्तानले बताए । निःशुल्क खानेपानी प्रयोग गरेबापतको रकम वडाले सम्बन्धित उपभोक्ता समितिलाई उपलब्ध गराउने जनाएको छ । कार्यक्रम सञ्चालनका लागि वडाले वार्षिक २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको अध्यक्ष मोक्तानले जानकारी दिए ।
यसअघि हेटौँडा उपमहानगरपालिका ले २०७९ भदौदेखि न्यूनतम १० हजार लिटर खानेपानी निःशुल्क उपलब्ध गराउँदै आएको थियो । तर, संघीय सरकारको निर्देशनपछि उक्त सुविधा कटौती भएपछि वडास्तरबाट पुनः यस्तो कार्यक्रम सुरु गरिएको हो । यस निर्णयबाट प्रभावित भएका नागरिकलाई लक्षित गर्दै वडा–१५ ले पहल थालेको हो ।
यसैगरी वडाले वडावासीका लागि खानेपानीसँगै एम्बुलेन्स भाडा र उपचारका लागि आवश्यक रगत खरिद खर्चसमेत निःशुल्क गर्ने व्यवस्था गरेको छ । वडाभित्रका नागरिक बिरामी भई जहाँसुकै उपचारका लागि गए पनि एम्बुलेन्स खर्च वडाले व्यहोर्ने जनाएको छ ।
वडामा रहेका २१ वटा टोल विकास समितिमध्ये हाल १९ वटामा यो कार्यक्रम लागू गरिएको छ । वडाध्यक्ष मुक्तानले भौतिक पूर्वाधारसँगै नागरिकको दैनिक आवश्यकतामा जोडिने कार्यक्रमलाई प्राथमिकता दिँदै यस्तो योजना ल्याइएको बताए । ‘जनतासँग प्रत्यक्ष जोडिने सेवा दिनुपर्छ भन्ने अवधारणाअनुसार कार्यक्रम ल्याएका हौं,’ उनले भने, ‘यसलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिइनेछ ।’
कार्यक्रम प्रभावकारी बनाउन टोल विकास संस्थालाई सक्रिय रूपमा परिचालन गरिने उनको भनाई छ । वडाको यस पहलप्रति स्थानीयवासीले सकारात्मक प्रतिक्रिया दिएका छन् । भोर्ले टोल विकास समितिकी सचिव हरिमणी लामाले यस्तो कार्यक्रमले आर्थिक भार घटाउने र दैनिक जीवन सहज बनाउने बताइन् । विशेषगरी विपन्न तथा न्यून आय भएका परिवारलाई यसबाट प्रत्यक्ष लाभ पुग्ने उनको भनाइ छ ।
स्थानीयका अनुसार आधारभूत सेवामा पहुँच सहज बनाउने यस्तो कार्यक्रमले सेवा प्रवाहमा सुधार ल्याउने अपेक्षा गरिएको छ । आगामी दिनमा पनि कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्नेमा उनीहरूले जोड दिएका छन् ।










