जनस्वास्थ्यमा ललितपुर, अस्पतालमा भक्तपुर र आयुर्वेदमा सिन्धुली प्रथम
हेटौंडा । बागमती प्रदेश, स्वास्थ्य निर्देशनालय मातहत रहेका उत्कृष्ट कार्यालयहरुलाई पुरस्कृत गरिएको छ । उत्कृष्ट भएका जनस्वास्थ्य कार्यालय, अस्पताल र आयुर्वेद तथा वैकल्पिक चिकित्सालयहरूलाई बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँ, प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा, स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलगायतले सम्मानपत्र प्रदान गर्नुभयो ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले प्रदेशको स्वास्थ्य क्षेत्रको समग्र सुधारका लागि प्रदेश सरकार सक्रियताका साथ अघि बढेको बताउनुभयो । आधारभुत आबश्यकताका रुपमा रहेको स्वास्थ्य सेवामा सबैको पहँुच हुनुपर्ने बताउनुभयो । स्वास्थ्य राम्रो भएन भने कुनैपनि क्षेत्रमा सफल नहुने उहाँको धारणा थियो ।

त्यस्तै प्रदेश स्वास्थ्य मन्त्री किरण थापाले राम्रो गरेकाबाट सिक्न र समीक्षामा पत्ता लागेका कमजोरी सुधार्न निर्देशन दिनुभयो । जागिरे मानसिकताले नभई सेवाभावले भरिएको सेवा प्रवाह गर्न उहाँले आग्रह गर्नुभयो ।
स्वास्थ्य सचिव डा गौतमले प्रदेश सभाबाट प्रदेश स्वास्थ्य ऐन पारित भइसकेकोले त्यसलाई कार्यान्वयन गरेर स्वास्थ्य क्षेत्रका समस्याहरू हल हुँदै जाने बिश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा जनस्वास्थ्य कार्यालयहरूमध्ये सबैभन्दा बढी अङ्क ल्याउँदै जनस्वास्थ्य कार्यालय ललितपुर प्रदेशकै उत्कृष्ट जिल्ला घोषित भएको छ ।
जनस्वास्थ्य कार्यालयले प्रदान गर्ने सेवासुविधा, कार्यसम्पादनलगायत विभिन्न शीर्षकअन्तर्गत भएको मूल्याङ्कनमा कुल १०० अङ्कमध्ये ७१.५९ अङ्क प्राप्त गर्दै ललितपुर जिल्ला उत्कृष्ट घोषित भएको हो ।
गतवर्ष पनि जनस्वास्थ्य कार्यालय ललितपुर प्रदेशकै उत्कृष्ट कार्यालयको रूपमा सम्मानित भएको थियो । दोस्रो स्थानमा जनस्वास्थ्य कार्यालय धादिङ रहेको छ । धादिङले ७०.८६ अङ्क प्राप्त गरेको छ भने ७०.६४ अङ्कसहित जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोक तेस्रो स्थानमा रहेको निर्देशनालयका निर्देशक डा. नरेन्द्रकुमार झाले जानकारी दिनुभयो ।
अस्पतालतर्फ भक्तपुर अस्पताल प्रदेशको उत्कृष्ट अस्पताल घोषित भएको छ । प्रदेशमातहत रहेका प्रादेशिक अस्पतालहरूमध्ये सबैभन्दा बढी अङ्क ल्याउँदै भक्तपुर अस्पताल प्रदेशकै उत्कृष्ट अस्पताल घोषित भएको हो ।
अस्पतालले प्रदान गर्ने सेवासुविधा, कार्यसम्पादनलगायत विभिन्न शीर्षकअन्तर्गत भएको मूल्यांकनमा कुल १०० अंकमध्ये ७१.१० अंक प्राप्त गर्दै भक्तपुर उत्कृष्ट अस्पताल घोषित भएको हो ।
भक्तपुर अस्पताल यस् अघि पनि लगातार सर्वोत्कृष्ट भएर रेकर्ड राख्न सफल भएको छ । यसैगरी, त्रिशुली अस्पताल प्रदेशमा दोस्रो हुन सफल भएको छ । त्रिशुली अस्पतालले १०० अंकमध्ये ७०.७२ प्राप्त गरेको थियो । यस्तै, चौतारा अस्पताल तेस्रो भएको छ ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सातर्फ ७२.६० अङ्कसहित आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सिन्धुली पहिलो स्थानमा रहन सफल भएको छ भने ७०.१० अंकसहित आयुर्वेद तथा बैकल्पिक चिकित्सालय नुवाकोट दोस्रो र चितवन तेस्रो स्थानमा रहेको छ ।










