सरकारलाई पत्रकार संगठनहरुको ध्यानाकर्षण

संवाददाता
२०८२ असार ११, बुधबार २१:१३

हेटौंडा । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गरेसँगै पत्रकारहरुको विभिन्न संगठनहरुले संयुक्त रुपमा विज्ञप्ती जारी गरी बागमती सरकारको ध्यानाकर्षण गराएका छन् ।

असार ११ गते जारी संयुक्त विज्ञप्तीमा भनिएको छ, ‘बागमती सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को बजेटको सन्दर्भमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । सञ्चारमैत्री बजेट निर्माणको लागि पटक पटक ध्यानाकर्षण तथा पहल गरिएकोमा श्रमजिवी पत्रकार र सञ्चार क्षेत्रलाई निषेध गरेर ल्याएको बजेटप्रति हाम्रो असहमति रहेको छ ।’

विज्ञप्तीमा सञ्चारमाध्यमहरुले पाउँदै आएको लोककल्याणकारी बिज्ञापन बृद्धिको माग गरिएकोमा चालु आर्थिक वर्ष २०८१/८२ को भन्दा ८५ प्रतिशतले कटौती, पत्रकार संघ संगठनको प्रदेश समितिहरु मार्फत् पत्रकार क्षमता विकास कार्यक्रम खारेज तथा श्रमजिवी पत्रकारको क्षमता विकास तथा हितका कार्यक्रमहरु कटौती गरिएकोमा भन्दै ती संगठनहरुले असहमती जनाएका छन् ।

‘आर्थिक वर्ष २०८२/८३ को नीति कार्यक्रममा समेटिएको पत्रकारलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन पहल, सञ्चार क्षेत्रको विकासको लागि कानूनी तथा कार्यक्रमगत प्रबन्ध तथा विज्ञापन अनुगमन तथा नियमनको लागि कानूनी प्रबन्ध मिलाउने नीति कार्यक्रम बजेटमा समावेश भएको छैन ।’ विज्ञप्तीमा भनिएको छ, ‘सञ्चार हेर्ने आन्तरिक मामिला तथा कानून मन्त्रालयले केही लाख रुपैयाँ तजबिजमा बाँड्न राखिएको रकम बाहेक सञ्चार क्षेत्रलाई बजेट शुन्य बनाइनु दुखद् कुरा हो ।’

विज्ञप्तीमा लोकतन्त्रको अभिन्न अंग सञ्चार क्षेत्रलाई कमजोर बनाउनेगरी ल्याइएको बजेट संसोधन गरी सञ्चारमैत्री बजेट निर्माण गर्न मुख्यमन्त्री बहादुरसिं लामा, आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछाने र आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले सहित सम्बद्ध सबै प्रदेश सरकारकारका सरोकार पक्ष र बिपक्षी दलहरूसंग जोडदार माग गरेका छन् । पत्रकार संगठनहरुले सञ्चार क्षेत्रलाई निषेध गरी आर्थिक वर्ष २०८२/८३ को बजेट पारित गरिए प्रदेश सरकारले गर्ने गतिविधिहरू सञ्चारमाध्यममा प्रकाशन÷प्रशारण नगर्नेसम्मको संघर्षमा उत्रन बाध्य हुने चेतावनसी समेत दिएका छन् ।

संयुक्त विज्ञप्ती जारी गर्ने पदाधिकारी र संस्थाहरुमा कृष्ण सारु मगर, अध्यक्ष, नेपाल पत्रकार महासंघ बागमती प्रदेश समिति, सुजन विडारी, उपाध्यक्ष, नेपाल प्रेस युनियन बागमती प्रदेश समिति, प्रकाश दाहाल, महासचिव, प्रेस चौतारी नेपाल बागमती प्रदेश समिति, ध्रुव अधिकारी, अध्यक्ष, प्रेस सेन्टर नेपाल बागमती प्रदेश समिति, नवराज छत्कुली, वरिष्ठ उपाध्यक्ष, समाजवादी प्रेस संगठन नेपाल रहेको छन् ।

यसैगरी युवराज श्रेष्ठ, अध्यक्ष, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेश समित, बालकृष्ण अधिकारी, अध्यक्ष, नेपाल पत्रकार महासंघ मकवानपुर शाखा, गंगा पौडेल, अध्यक्ष, ब्रोडकाष्टिङ एशोसियसन अफ नेपाल (बान) बागमती प्रदेश समिति, दान बहादुर गुरुङ, कोषाध्यक्ष, सामुदायिक रेडियो प्रशारक संघ बागमती प्रदेश समिति, सुरेश श्रेष्ठ, उपमहासचिव, स्वतन्त्र पत्रकार संघ, नानीमाया सापकोटा, महासचिव, सञ्चारिका समुह बागमती प्रदेश समिति, कुमार श्रेष्ठ, सचिव, राष्ट्रिय फोटो पत्रकार समुह बागमती प्रदेश समिति रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*