चितवन दुर्घटना: बच्चा जन्माउन हिडेकी गर्भवतीसङ्गै श्रीमान र सासुसहित ७ जनाको मृत्यु

संवाददाता
२०८२ असार ७, शनिबार २०:१०

हेटौंडा । हेटौँडाकी गर्भवती २७ वर्षीया रेनुका कँडेललाई चिकित्सकले आइतवार बच्चा जन्माउने मिति दिएको थियो। सोही कारण आज सासु मैयाकुमारी र श्रीमान सरोज पहाडीसहित ईभी माइक्रोमा भरतपुर अस्पताल जाँदै थिइन्।

उनलाई आफ्नो दोस्रो सन्तान जन्माउने ठूलो धोको थियो। पहिलो सन्तान छोरीलाई ससुराको साथमा छाडेर उनी सासु र श्रीमानका साथ चितवन हिँडेकी थिइन्।

रेनुका हेटौँडामै स्वास्थ्य जाँच गराउँदै आएकी थिइन्। सन्तान जन्माउने समय आएकाले उनी परिवारसहित भरतपुर हिँडेकी हुन्। 

उनीहरू चितवन त टेके तर भरतपुर अस्पताल पुग्न झण्डै २० किलोमिटर बाँकी छँदै भण्डारामा बससँग उनीहरू चढेको माइक्रो ठक्कर खाँदा गर्भको शिशुसहित तीनै जना सदाका लागि अस्ताए। उनीहरू तीनै जनाको त्यस दुर्घटनामा ज्यान गएको हेटौंडा ५ का वडाध्यक्ष सुशिल घिमिरेले जानकारी दिए।

शनिवार विहान १०:१५ बजेको समयमा भएको उक्त दुर्घटनामा उनीहरूसहित ७ जनाले ज्यान गुमाएका छन्। धनगढीबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्र.१-००१ ख ३५८३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्र.३-००१ ज २९९ नम्बरको ईभी माइक्रो एकआपसमा ठोक्किँदा उक्त दुर्घटना भएको थियो। दुर्घटनामा २४ जना घाइते भएका छन्। 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*