कुलेखानी–कलंकी–हुमाने सडक १९ दिन बन्द हुने

संवाददाता
२०८२ जेष्ठ १, बुधबार २०:१७

हेटौंडा । हेटौंडा काठमाडौं जोड्ने कुलेखानी–कलंकी–हुमाने सडक खण्ड १९ दिन बन्द हुने भएको छ । सडक स्तरोन्नती कार्यका लागि १९ दिन सवारी आवागमन बन्द गरिएको हो । 

जिल्ला प्रशासन कार्यालय मकवानपुरले मंगलबार एक सूचना जारी गर्दै सो सडक बन्द गर्ने निर्णय भएको जनाएको हो । सो सडक पूर्वाधार विकास कार्यालय, हेटौंडा, मकवानपुर मार्फत् ठेक्का लागि हाल मर्मत तथा स्तरोन्नतीको काम भइरहेको छ । 

पूर्वाधार विकास कार्यालय, हेटौंडाको पत्रचार बमोजिम इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी–कलंकी–हुमाने सडक खण्ड कालोपत्रे गर्ने प्रयोजनका लागि जेठ २ गतेदेखि २० गतेसम्म (१९ दिन) बन्द गरिने भएको हो ।

१९ दिन उक्त सडक खण्डमा सवारी आवागमन पूर्ण रुपमा बन्द हुने भएकोले सो अवधिमा हेटौंडा–काठमाडौं आवतजावतका लागि अन्य वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालयले सो अवधिमा कान्ति लोकपथ वा कुलेखानी–सिस्नेरी फर्पिङ सडकको प्रयोग गर्न आग्रह गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*