रोमाञ्चक खेलमा विराटनगरलाई हराउँदै चितवन विजयी
विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै चितवन राइनोजले तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल)मा विजयी सुरुवात गरेको छ।
मंगलबार त्रिवि क्रिकेट मैदानमा भएको प्रतियोगिताको दोस्रो खेलमा चितवनले सुरुमा ब्याटिङ गर्दै तीन विकेट गुमाएर १५८ रनको लक्ष्य दिएको थियो। प्रत्युत्तरमा विराटनगर १९.३ ओभरमा अलआउट हुँदा मात्र १४९ रन बनाउन सक्यो।
विराटनगरको लागि वेष्ट इन्डिजका चर्चित अलराउन्डर आन्द्रे रसेल पहिलो खेलमै चले पनि जित दिलाउन सकेनन्। उनले एक विकेट लिनुका साथै ३३ रन बनाएका थिए।
विराटनगरका लागि दुई ओपनरले सानदार सुरुवात गरे पनि मध्यक्रम र तल्लोक्रमको ब्याटर चल्न सकेनन्। इमरान शेखले सर्वाधिक ३९ रन बनाए। उनले ३१ बलमा चार चौका र २ छक्का हिर्काएका हुन्। अर्का ओपनर लोकेश बलमे २६ रन बनाए । उनले १४ बलमा चार चौका र एक छक्का जोेडेका थिए। पहिलो विकेटका लागि लोकेश र इमरानले ४० रनको साझेदारी गरेका थिए।
छैटौँ नम्बर ब्याटिङ गर्न आएका रसेलले १७ बलमा आक्रमक ३३ रन बनाए। उनले एक चौका र चार छक्का हिर्काएका हुन्। यसपछि कुनै पनि ब्याटर चल्न सकेनन्। एन्जेलो म्याथ्युजले १४, बसिर अहमदले १३ तथा चारिथ असलंकाले आठ रन मात्रै बनाए।
तल्लोक्रमका ब्याटर रूपेश सिंह, प्रतिश जिसी र कप्तान सन्दीप लामिछाने पनि डक आउट हुँदा विराटनगर पहिलो खेलमै पराजित भयो। १८.५ ओभरमा देव खनालले नरेन साउदको क्याच छाड्दा चितवन चाँडै जित निकाल्न रोकिएको थियो। शुभम रञ्जनेले १० रन जोडे।
चितवनका कमलसिंह ऐरीले सर्वाधिक चार विकेट लिए। उनले चार ओभरमा २६ रन दिए। रिजन ढकालको नाममा दुई विकेट रह्यो।
यसअघि टस हारेर ब्याटिङ गरेको चितवनका लागि डेभिड मालनले ५० बलमा सर्वाधिक ७० रन बनाएका थिए। उनले समान पाँच चौका र छक्का हिर्काए। इंग्ल्यान्डका ब्याटर अघिल्लो रात मात्रै नेपाल आइपुगेका थिए।
कप्तान रवि बोपराले २६ बलमा ३२ रन बनाए। यसक्रममा उनले एक चौका र दुई छक्का हिर्काएका थिए। डान मोउस्लीले २२ बलमा २९ रनको योगदान गरेका थिए।
विराटनगरको लागि आन्द्रे रसेल, एन्जेलो म्याथ्युज र चारिथ असलंकाले समान एक विकेट लिएका थिए।
यसअघि प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई सात विकेटले हराउँदै विजयी सुरुवात गरेको थियो।- नयाँ पत्रिकाबाट ।











