हेटौंडाको शवदाह मेसिन सात महिनापछि पुनः संचालन
राप्ती खोलाको किनारमा हेटौंडा उपमहानगरपालिकाले संचालन गरेको शवदाह मेसिन सात महिनापछि पुनः संचालनमा आएको छ ।
गत भदौ महिनादेखि शवदाह मेसिनको उपकरण बिग्रेकाले भारतबाट सामान ल्याएर जडान गरेपश्चात् सोमबारदेखि संचालनमा आएको हो ।
शवदाह मेसिनको भित्री भागमा लाग्ने पाता फेरेसँगै संचालनमा आएको हेटौंडा उपमहानगरपालिकाका वातावरण शाखाका प्रमुख हिमप्रसाद पौडेलले बताए ।
भारतबाट मेसिनसहित प्राविधिकहरू ल्याएर मर्मत गर्नुपर्ने भएकाले समय लागेको उनले बताए ।
हेटौंडा उपमहानगरपालिका–१० राप्ती तटमा २०७५ सालमा उक्त शवदाह मेसिन राखिएको थियो । भारतबाट उक्त शवदाह मेसिन ल्याएर भारतीय प्राविधिकले जडान गरेका थिए । हेटौंडा उपमहानगरपालिकाले करिब ५० लाखको लागतमा उक्त शवदाह मेसिन जडान गरेको थियो ।
खुला रुपमा शव जलाउँदा वातावरण प्रदूषित हुने, समय धेरै लाग्ने र दाउरा पनि बढी खर्च हुने भएकाले उपमहानगरपालिकाले उक्त शवदाह मेसिन जडान गरेको नगर प्रमुख मीनाकुमारी लामाले बताइन् । उपमहानगरपालिकाले शव जलाउँदा निस्कने धूँवालाई ७० मिटर अग्लो टावरमार्फत माथिल्लो भागमा फ्याँक्ने गरेको छ । प्राविधिकका अनुसार खुला रूपमा एउटा शव जलाउँदा करिब ४ क्विन्टल दाउरा लाग्ने तर यसमा जलाउँदा साढे १ क्विन्टलमात्र दाउरा लाग्ने गर्छ । ७ वर्षअघि स्थापना गरेको यो मेसिनमा दाहसंस्कार गर्न साढे १ घन्टामात्र समय लाग्ने गरेको छ ।










