बागमती प्रदेश सरकार स्वास्थ्य सेवा सुधारमा निरन्तर सक्रिय : स्वास्थ्य मन्त्री थापा
बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले प्रदेश सरकार नागरिकको स्वास्थ्य सुधारका लागि निरन्तर क्रियाशील रहेको बताउनुभएको छ । हेटौंडामा आयोजित कार्यक्रममा बोल्दै उहाँले प्रदेशभर स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालयले विभिन्न सुधारात्मक कार्यक्रम अघि बढाइरहेको जानकारी दिनुभयो ।
उहाँका अनुसार वाग्मती प्रदेशका अस्पतालदेखि आयुर्वेद तथा वैकल्पिक चिकित्सालयसम्मको सेवा गुणस्तर सुधार गर्न स्वास्थ्य मन्त्रालय सक्रिय रूपमा लागेको छ । मन्त्री थापा मगरले प्रदेश सरकारले डिजिटल हेल्थ सेवा सुरु गरेको, अनलाइन दर्ता प्रणाली लागू गरेको तथा ‘एक जिल्ला, एक स्वास्थ्य सहर’ अवधारणालाई कार्यान्वयनमा ल्याएको बताउनुभयो ।
त्यसैगरी, प्रदेशका ८४८ माध्यमिक विद्यालयमा नर्सिङ स्वास्थ्य सेवा सुरु गरिएको उहाँले जानकारी दिनुभयो । आयुर्वेद अस्पतालमार्फत समेत बहिरङ्ग (ओपिडी) सेवा सञ्चालनमा ल्याइएको उल्लेख गर्दै उहाँले यसलाई थप विस्तार गर्ने तयारी भइरहेको बताउनुभयो ।
उहाँले चितवन र नुवाकोटमा उक्त सेवा सुरु भइसकेको र यस वर्ष रामेछाप तथा मकवानपुरका आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा पनि ओपिडी सेवा सुरु गरिने जानकारी दिनुभयो ।
मन्त्री थापा मगरले प्रदेश सरकारले आफ्नै औषधि उत्पादन केन्द्र स्थापना गरेको र अब टेलिमेडिसिन हब सञ्चालनमा ल्याउने तयारी भइरहेको बताउनुभयो । साथै योग, ध्यान र प्राणायामलाई संस्थागत गर्दै सबै नीतिमा स्वास्थ्य नीति समेट्ने काम भइरहेको उहाँको भनाइ थियो ।
उहाँले अब वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालय स्वास्थ्य जनशक्ति उत्पादनको काममा समेत केन्द्रित हुने स्पष्ट पार्नुभयो ।
कार्यक्रममा स्वास्थ्य सचिव डा. सुमित्रा गौतमले प्रदेश स्वास्थ्य मन्त्रालयमार्फत हालसम्म भएका काम तथा त्यसबाट प्राप्त उपलब्धिबारे जानकारी गराउनुभएको थियो ।










