विद्युतकाे पोलमा बस ठोक्किँदा २२ जना घाइते
मकवानपुरको मनहरी गाउँपालिका– ७, बिजौनास्थित पूर्व–पश्चिम राजमार्गखण्डमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । आइतबार बिहान करिब सवा सात बजे वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको बा.प्र.०६–००१ ख ००५४ नम्बरको बस अनियन्त्रित भई सडक किनारमा रहेको विद्युतकाे पोलमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा बसमा सवार २२ जना यात्रु सामान्य तथा मध्यम घाइते भएका छन् । घाइतेहरूलाई तत्कालै स्थानीयवासी र प्रहरीको सहयोगमा उद्धार गरी उपचारका लागि चितवन पठाइएको प्रहरीले जानकारी दिएको छ । बस घटनास्थलमै रहेको भए पनि सडक अवरुद्ध नभएको र यातायात आवागमन नियमित रूपमा सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको बताइएको छ । घाइतेहरूको विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।










