स्वास्थ्य मन्त्रालयद्वारा धादिङमा गम्भीर अवस्थाका नवजात शिशुको हेलिकप्टरमार्फत उद्धार

सबथोक
२०८२ फाल्गुन ६, बुधबार २१:२४

हेटौंडा । धादिङ जिल्लाको खनियाबास गाउँपालिकास्थित खनियाबास ग्रामीण अस्पतालमा जन्मिएका एक नवजात शिशुको गम्भीर स्वास्थ्य अवस्थाका कारण बुधबार हेलिकप्टरमार्फत आपत्कालीन उद्धार गरिएको छ। जन्मिएलगत्तै श्वासप्रश्वासमा समस्या देखिएपछि बागमती प्रदेश स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालयले जनस्वास्थ्य कार्यालय धादिङको समन्वयमा १९ बर्षकि आमा चुनमाया सहित शिशुलाई थप उपचारका लागि काठमाडौँ पठाइएको हो।

शिशुको जन्म बिहान करिब ९ बजेर २० मिनेटमा भएको थियो। करिब ३,७०० ग्राम तौल भएका शिशु जन्मनासाथ नरोएको, शरीर निलो देखिएको तथा अक्सिजनको मात्रा ९४ प्रतिशतभन्दा कम भएपछि अवस्था गम्भीर बनेको जनस्वास्थ्य कार्यालय धादिङका प्रमुख अर्जुन पौडेलले जानकारी दिनुभयो। 

ग्रामीण अस्पतालमा तत्काल प्रारम्भिक उपचार गरिएको भए पनि आवश्यक विशेषज्ञ सेवा र उपकरणको अभावका कारण आपतकालीन उद्दार गरिएको निर्देशनालयका निर्देशक डा. नरेन्द्र कुमार झाले बताउनुभयो । दिउँसो १ बजेर २० मिनेटमा शिशुलाई हेलिकप्टरमार्फत कान्ति बाल अस्पताल, काठमाडौँ पुर्‍याइएको जनाइएको छ। अस्पताल पुगेलगत्तै शिशुलाई नवजात सघन उपचार कक्ष (एनआइसीयू) मा भर्ना गरी विशेषज्ञ चिकित्सकको निगरानीमा उपचार सुरु गरिएको जनस्वास्थ्य कार्यालय धादिङले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*