सरकारी सवारी सुविधा नलिएका बागमतीका स्वास्थ्य मन्त्री किरण थापाले सामाजिक कार्यमै खर्च गर्दै तलब–सुविधा पनि
भक्तपुर–२(क) बाट नेकपा एमालेबाट निर्वाचित बागमती प्रदेश सभा सदस्य तथा हालका वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले पद र सुविधाभन्दा सेवा र जिम्मेवारीलाई प्राथमिकता दिने कार्यलाई निरन्तरता दिनुभएको छ ।
मन्त्री थापाले पहिले सूर्यविनायक नगरपालिका–८ का वडा अध्यक्ष रहँदा जस्तै यस पटक पनि स्वास्थ्य मन्त्री बनेपछि सरकारी सवारी सुविधा अस्वीकार गर्दै आफ्नै निजी गाडी प्रयोग गर्नु भएको छ। उहाँले राज्यको खर्च घटाउने उद्देश्यसहित सरकारी सवारी सुविधा, इन्धन तथा अन्य भत्ता प्रयोग नगर्ने प्रतिबद्धता जनाउनुभएको छ । वडाध्यक्ष हुँदा पनि उहाँले राज्यबाट पाउने सबै सुविधा सामाजिक काममा लगाउँदै आउनु भएको थियो ।
उहाँले सो बेला स्थापना गरेको अक्षय कोषमा अहिले ४० लाख रुपैँया जम्मा भएको छ । ‘मेरो ५ वर्षाको पारिश्रमिक १५ लाखा भयो, अरू सहयोगी साथीहरूले पनि सो कोषमा केही सहयोग गर्नुभयो, अहिले सो कोषको ब्याजबाट विद्यार्थीलाई विद्यालय पोसाक, विद्यालय सामाग्री लगायत सहयोग गर्ने गरिएको छ, त्यसैबाट केही सामाजिक काम पनि हुन्छ’, उहाँले भन्नुभयो ।
मन्त्री थापाले तलब र अन्य सुविधाबाट प्राप्त रकम पनि सामाजिक कार्यमा खर्च गर्ने परम्परा निरन्तरता दिइरहनुभएको छ । उहाँका अनुसार जनताबाट पाएको जिम्मेवारी जनताकै सेवामा रूपान्तरण गर्नु नै जनप्रतिनिधिको असली धर्म हो । थापाले भन्नुभयो, ‘हामीले राज्यको जिम्मेवारी सम्हाल्दा त्यो विशेषाधिकार होइन, जिम्मेवारीका रूपमा लिनुपर्छ, राज्यको स्रोत जनताकै हो, त्यसैले मितव्ययिता र सेवा भावसहित अघि बढ्नुपर्छ ।’
मन्त्री हुँदा पाउने सुविधा पनि सोही कोषमा राखेर विद्यार्थी र विद्यालय सुधारका लागि खर्च गर्ने योजना उहाँले सुनाउनुभयो । ‘शिक्षा सुधार नभई अरू क्षेत्रमा सुधार गर्न सकिँदैन, मूलतः शिक्षा क्षेत्रकै सुधारमा खर्च गर्ने हो, त्यस बाहेक आवश्यकताको आधारमा सकेको अन्य सामाजिक काम पनि गर्ने योजना छ’, उहाँले भन्नुभयो ।

सामाजिक क्षेत्रमा सक्रिय रहँदै आउनु भएका थापा मगर स्थानीय स्तरमा स्वास्थ्य जनचेतना कार्यक्रम, वृद्धा–वृद्धा सेवा, विद्यालयका विद्यार्थीका लागि स्वास्थ्य परामर्श तथा रक्तदान अभियानलगायत विभिन्न अभियानमा सक्रिय रूपमा संलग्न रहँदै आउनुभएको छ। उहाँ लामो समय भक्तपुर रेडक्रसमा आबद्ध हुनुन्थ्यो । भक्तपुर रेडक्रसको उपसभापति समेत भएर काम गर्नु भएका थापा सेवामूलक भिन्न सामाजिक संस्थामा समेत आबद्ध रहँदै आउनु भएको छ ।
उहाँको यस्तो व्यवहार र कार्यशैलीले स्थानीय जनप्रतिनिधि मात्र होइन, प्रदेशका अन्य सांसद र मन्त्रीहरूलाई पनि प्रेरणा दिने गरी सन्देश प्रवाह भएको छ । मन्त्री थापाको पहललाई ‘राजनीतिक आडम्बर घटाउँदै जनसेवाको व्यवहारिक दृष्टान्त’ का रूपमा व्याख्या गरिएको छ । थापाजस्ता प्रतिनिधिहरूका राज्यका स्रोतको मितव्ययी प्रयोग र सामाजिक उत्तरदायित्वको अभ्यासले जनस्तरमा राजनीतिप्रतिको विश्वास पुनः स्थापित गर्न सहयोग पुर्याउँछ ।










