बागमती प्रदेशसभाकाे बजेट अधिवेशन ५ जेठमा आह्वान गर्न सिफारिस
हेटाैंडा । बागमती प्रदेश सभाकाे साेह्राैं अधिवेशन सरकारले आगामी ५ जेठबाट सञ्चालन गर्ने तयारी भएकाे छ ।
हेटाैंडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज मंगलबार बसेकाे मन्त्रिपरिषद् बैठकले साेह्राैं अर्थात बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेकाे सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।
मन्त्रिपरिषद्काे सिफारिसमा प्रदेश प्रमुखले प्रदेश सभाकाे अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ । प्रदेश प्रमुख दिपकप्रसाद देवकाेटा छन् ।
यसैगरी, साेह्राैं अधिवेशनबाट आगामी आर्थिक वर्ष २०८२/८३ काे नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनेछ । प्रदेश सरकारले आगामी आवकाे लागि बजेट निर्माणकाे तयारी गरिरहेकाे छ । आर्थिक मामिला तथा याेजना मन्त्रालयले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित १४ वटा मन्त्रालयलाई गत ४ वैशाखमा ५५ अर्बकाे बजेट सिलिङ ताेकेकाे थियाे ।










