स्वास्थ्य मन्त्री थापाद्वारा नयाँ वर्षमा उदाहरणीय स्वास्थ्य प्रदेश बनाउने अठोट
हेटौंडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले नयाँ वर्ष २०८२ सालको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्दै शुभकामना व्यक्त गरेका छन्। नयाँ वर्षको अवसरमा प्रकाशित शुभकामना सन्देशमा मन्त्री थापाले विगत वर्षको अनुभव र सिकाइलाई आत्मसात गर्दै आगामी दिनमा स्वास्थ्य सेवा प्रणालीलाई समावेशी, प्रभावकारी र दिगो बनाउने अठोट दोहोर्याएका छन्।
उनले बागमती प्रदेश सरकारले गुणस्तरीय, सर्वसुलभ र समयमै सेवा दिने स्वास्थ्य प्रणाली निर्माणमा विभिन्न सुधारात्मक प्रयास गरिरहेको उल्लेख गरे। विशेषगरी प्राथमिक स्वास्थ्य सेवा सुदृढीकरण, स्वास्थ्य संस्थाको भौतिक संरचना तथा जनशक्ति अभिवृद्धि, ग्रामिण तथा दुर्गम क्षेत्रको पहुँच विस्तार, मातृ-शिशु तथा मानसिक स्वास्थ्यमा केन्द्रित योजना अगाडि बढाइएको जानकारी दिए।
“हामी बागमती प्रदेशलाई एक उदाहरणीय स्वास्थ्य सेवा प्रणाली भएको प्रदेश बनाउने दिशामा दृढप्रतिबद्ध छौं,” सन्देशमा उल्लेख गरिएको छ।
मन्त्री थापाले नयाँ वर्ष २०८२ मा नवीन प्रविधिको प्रयोग, स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि, र आधुनिक सेवा प्रणाली निर्माणमा अझ केन्द्रीत हुने स्पष्ट गरेका छन्।
उनले सबै नागरिकमा आपसी सद्भाव, सहकार्य र सकारात्मक सोच विकास होस् भन्ने शुभेच्छा प्रकट गर्दै नयाँ वर्ष सम्पूर्ण नेपालीका लागि खुशीयाली, शान्ति र समृद्धिको वर्ष बनोस् भन्ने शुभकामनासहित उत्तरोत्तर प्रगतिको कामना गरेका छन्।










