एसईईमा मकवानपुरका ४ विद्यालयको नतिजा शून्य

सबथोक
२०८३ बैशाख २९, मंगलवार १६:१३

माध्यमिक शिक्षा परीक्षा (एसईई)को सोमबार प्रकाशित नतिजामा मकवानपुरका दुई पालिकाका ४ विद्यालयबाट शून्य विद्यार्थी उत्तीर्ण भएका छन् । 

राक्सिराङ गाउँपालिकाका ३ वटा विद्यालयको नतिजा शून्य आएको छ  । राक्सिराङ-४ स्थित कालिका मावि, राक्सिराङ–६ स्थित राष्ट्रिय मावि र राक्सिराङ–८ स्थित मावि देवीटारको नतिजा शून्य आएको हो । यसैगरी भीमफेदी गाउँपालिका-८ पन्चकन्या माविको नतिजा शून्य छ । गत वर्ष मकवानपुरमा ४ पालिकाका ७ विद्यालयको एसईई नतिजा शून्य आएको थियो । 

२०८२ को एसईईमा मकवानपुरका ५० दशमलव ९९ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् ।  परीक्षामा सहभागी ५ हजार ५ सय २७ विद्यार्थीमध्ये २ हजार ७ सय ९ जना मात्रै ग्रेडेड भएका हुन् । २ हजार ८ सय १८ जना विद्यार्थी ननग्रेडेड छन् । गत वर्ष ४६ दशमलब ८६ प्रतिशत विद्यार्थीमात्र ग्रेडेड भएका थिए । 

जिल्लाभर ७ छात्रा र ६ छात्र गरी १३ जनाले ४ जीपीए ल्याएका छन् । ४ जीपिए ल्याउने २ सामुदायिक माविसहित ७ विद्यालय रहेका छन् ।  ३ दशमलब ६ देखि ४ जीपीए ल्याउने विद्यार्थी ४ सय ३६ जना छन् । ३ दशमलब २ जीपीएदेखि ३ दशमलब ६ जीपीए ल्याउने ७ सय ८९ जना विद्यार्थी छन् भने २ दशमलब ८ जीपीएदेखि ३ दशमलब २ जीपीए ल्याउने ९ सय ८२ जना छन् । २ दशमलब ४ जीपीएदेखि २ दशमलब ८ जीपीए ल्याउने ५ सय ५५ र २ दशमलब ० जीपीएदेखि २ दशमलब ४ जीपीए ल्याउने ४३ जना छन् । 

२०८२ को एसईईमा मकवानपुरका सामुदायिक मावि १०५ र संस्थागत मावि ३७ गरी १४२ विद्यालयका छात्रछात्रा सहभागी थिए । ०८१ को एसईईमा मकवानपुरका ३ छात्रा र २ छात्रगरी ५ जनाले जीपीए ल्याएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*