घर र कार्यालयमा छापा मरेपछि मुख्यमन्त्री बानियाँले भने : अनुसन्धानमा पूर्ण सहयोग गर्छु
बागमती प्रदेशका मुख्यमन्त्रीले आफ्नो घर तथा उनी संलग्न पूर्व कम्पनीको कार्यालयमा भएको छापामारीप्रति ध्यानाकर्षण जनाउँदै अनुसन्धानमा पूर्ण सहयोग गर्ने बताएका छन् ।
सोमबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हेटौंडा र काठमाडौंस्थित मुख्यमन्त्रीको निवास तथा उनी संलग्न रहेको बानियाँ निर्माण सेवाको कार्यालयमा छापा मारेर कागजात नियन्त्रणमा लिएको थियो । उक्त घटनापछि जारी गरिएको प्रेस विज्ञप्तिमा मुख्यमन्त्रीले छानबिनलाई सकारात्मक रूपमा लिएको उल्लेख गरेका छन् ।
उनले आफू मुख्यमन्त्री भएपछि सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त समाज निर्माणलाई प्राथमिकतामा राखेर काम गर्दै आएको दाबी गरेका छन् । प्रदेश सरकारको खर्च नियन्त्रण, मितव्ययिता र योजनामा पारदर्शिता कायम गर्न नीतिगत पहल गरिएको पनि उनले बताएका छन् ।
यद्यपि, सञ्चारमाध्यममा आएको समाचारका आधारमा गरिएको छापामारीले आफ्नो व्यक्तिगत र सामाजिक चरित्रमा आघात पुगेको महसुस भएको उनले उल्लेख गरेका छन् । राज्यका निकायले बोलाएमा आफू उपस्थित हुन तयार हुँदाहुँदै अकस्मात् छापा मारिएकोप्रति उनले आपत्ति जनाएका छन् ।
मुख्यमन्त्रीले संवैधानिक र कानुनी दायराभित्र हुने सबै अनुसन्धानमा आफ्नो पूर्ण समर्थन रहने स्पष्ट पार्दै बागमती प्रदेशवासीलाई भ्रमित वा चिन्तित नहुन आग्रह गरेका छन् ।










