मातहतका कार्यालयलाई विद्युतीय हाजिरी प्रणाली अद्यावधिक गर्न बागमती प्रदेश सरकारको निर्देशन
बागमती प्रदेश सरकारले मातहतका सबै मन्त्रालय, आयोग, सचिवालय तथा कार्यालयहरूलाई कर्मचारीहरूको हाजिरी विवरण विद्युतीय प्रणालीमार्फत अद्यावधिक गर्न निर्देशन दिएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको सूचनामा कर्मचारीहरूको दैनिक उपस्थितिलाई विद्युतीय हाजिरी प्रणालीमा आबद्ध गराई आएको, गएको, काज तथा बिदासम्बन्धी सम्पूर्ण विवरण सोही प्रणालीमार्फत अभिलेख राख्ने व्यवस्था मिलाउन भनिएको छ।
त्यसैगरी, प्रत्येक महिनाको हाजिरी विवरण प्रिन्ट गरी प्रमाणित अभिलेखका रूपमा तयार पारेर महिना समाप्त भएको तीन कार्यदिनभित्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउन पनि निर्देशन दिइएको छ।
कर्मचारीहरू समयमा कार्यालयमा नपुग्ने, तोकिएको समयसम्म नबस्ने र खाजा खाने सीमित समयमा समेत घण्टौँ बाहिर बस्ने गरेको जनगुनासो आएपछि यस्तो निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
यो निर्देशनले बागमती प्रदेशमातहतका सम्पूर्ण कार्यालयका प्रशासनिक कामकारबाहीलाई व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको कार्यालयका अधिकृत ऋषिराम भुसालले बताए।











