होमस्टेले खाली घरमा पाहुना भरिभराउ
मकवानपुरको भीमफेदी–५, सुपिङमा बसाइँसराइले रित्तिएका घर अहिले आकर्षक होमस्टेमा परिणत भएका छन् । साथै बाँझो जमिनमा अर्गानिक तरकारी उत्पादन गरेर हराभरा बनाइएको छ । केही वर्षअघिसम्म सुपिङ गाउँका अधिकांश घरमा ताला झुन्डिएका थिए । विकास अभाव, बेरोजगारी र अवसरको खोजीमा सुपिङका बासिन्दा हेटौंडा, काठमाडौं बसाइँ सरेका थिए भने केही विदेश पलायन भएका थिए ।
बस्ती रित्तिएपछि खेतबारी बाँझै थिए । मनोरम बस्तीका घरका ढोकामा ताला लागेको देखेपछि थाहा नगरपालिकाका पर्यटन व्यवसायी देवेन्द्र नेपालले घरलाई ७ महिनादेखि होमस्टे बनाएर पाहुना बसालिरहेका छन् । बाँझो जमिनमा काउली, मुला, साग लगायत तरकारी उत्पादन गरेर हरियाली बनाएका छन् । चारैतिर डाँडाकाँडा, हरियाली, चिसो हावापानी र मौलिक जीवनशैली यहाँका विशेषता हुन् । मनमोहक अस्ताउँदो सूर्यको दृश्य देख्न सकिने यस गाउँको नजिकै प्राचीन भीमफेदी बजार, गुप्तेश्वर गुफा, गुम्बा, चिसापानी गढी र हात्तीसारजस्ता ऐतिहासिक महत्त्व बोकेका पर्यटकीय स्थल छन् । यसकारण, चितवन, वीरगन्ज, हेटौंडा र काठमाडौंबाट पर्यटकहरू सुपिङ घुम्न आउने क्रम बढ्दो छ ।

व्यवसायी नेपालले सुपिङका ९ वटा घर भाडामा लिएर होमस्टे बनाएको बताए । तिनमा करिब ८० लाख रुपैयाँ लगानी गरेका छन् । पुराना मोडलका घरलाई नभत्काई आकर्षक ढंगले होमस्टेमा परिणत गरेको नेपालले बताए । देवेन्द्रका १९ वर्षीय छोरा प्रतीकले गाउँको प्राकृतिक सौन्दर्य र मौलिक जीवनशैलीलाई पर्यटनसँग जोड्ने प्रयास गरेका हुन् । पर्यटनको प्रचुर सम्भावना बोकेको र मौलिक संस्कृतिले भरिपूर्ण उक्त गाउँका घरहरू अहिले पाहुनाले भरिएका मात्र छैनन्, होमस्टेसम्म पुग्ने सडक र भित्री बाटोहरू पनि पक्की बनेका छन् ।
मकवानपुरको पुरानो सदरमुकाम भीमफेदी बजारबाट करिब ४ किलोमिटर दूरीमा बस्ती छ । त्यहाँका अधिकांश युवा रोजगारीको खोजीमा पलायन भएपछि घर सुनसान भएका थिए । पोखरामा दुनाटपरी होटल र थाहा नगरपालिकाको चित्लाङमा रिसोर्ट संचालन गर्दै आएका देवेन्द्रले सुपिङका खाली घर र बाँझो जमिन भाडामा लिएर होमस्टे संचालन गर्ने सोच ल्याएपछि वडाध्यक्ष जाहरसिं लामाले समन्वयकारी भूमिका निर्वाह गरेका थिए । ‘अहिले खाली घरमा होमस्टे राम्रोसँग संचालन भएको देख्दा खुसी लागेको छ,’ वडाध्यक्ष लामाले भने, ‘बाँझो जमिन पनि हराभरा भएको छ ।’ यसले गर्दा बसाइँसराइले खाली भएका घरमा पुनः चहलपहल फर्काउँदै गाउँमै व्यावसायिक पर्यटनको नयाँ सम्भावनाको ढोका खोलेको उनले बताए ।
पुराना घरलाई आकर्षक होमस्टे बनाएर सञ्चालन गरिएपछि गाउँमा छुट्टै रौनक छाएको स्थानीय ध्रुव प्डुासैनीले बताए । ‘घर–घरमा धारा, बिजुली, बाटो सबै सुविधा सम्पन्न छ,’ उनले भने, ‘तर यहाँका स्थानीय बजारमुखी भएर बजारतिर सरेका छन् । अहिले टाढा–टाढाबाट पाहुनाहरू आउन थालेका छन् ।’ झिलिमिली बत्ती र चहलपहलले गाउँको वातावरण रमाइलो बनेको छ । उक्त होमस्टेले स्थानीय स्तरमा आय आर्जन बढाउनुका साथै रोजगारी पनि दिएको छ ।
गत कार्तिकमा पुराना घरको मर्मत सम्भार गरेर सुन्दर होमस्टेमा रूपान्तरण गरिएको हो । २५ रोपनी जग्गा भाडामा लिएर ५० जनासम्म पाहुना अटाउन सक्ने गरी ९ वटा घर र ३ वटा कटेज निर्माण गरेर संचालन गरिएको छ । दुध, तोरी, साग र नासपातीको उत्पादनका लागि नाम कमाएको सुपिङमा अहिले होमस्टे अर्को आकर्षण बनेको छ । – इकान्तिपुरबाट











