छुट्टाछुट्टै दुर्घटनामा मकवानपुरमा २ जनाको मृत्यु

सबथोक
२०८३ बैशाख ४, शुक्रबार १६:२४

मदन भण्डारी लोकमार्ग अन्तर्गत हेटौँडा–सिन्धुलीमा सडकखण्डमा शुक्रबार दिउँसो भएको छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु भएको छ । मृतक मध्ये एकजनाको पहिचान खुल्न सकेको छैन भने अर्का मृतक मकवानपुरको बागमती गाउँपालिका–७ की ४० वर्षीया चिनीमाया रुम्बा रहेकी छिन् ।

शुक्रबार दिउँसो १२ बजेर ३५ मिनेटको समयमा हेटौँडाबाट पूर्व फुर्केचौरतर्फ जाँदै गरेको ना ३९ प ३७५ नम्बरको मोटरसाइकल र फुर्केचौरबाट हेटौँडातर्फ आउँदै गरेको बा प्र ०३–००५ प ७२१९ नम्बरको मोटरसाइकल हेटौँडा–१८, भक्तिचोकमा आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा परी मृत्यु भएका अन्दाजी ३५ वर्षीय पुरुषको परिचय खुल्न सकेको छैन । दुर्घटनामा परी बागमति गाउँपालिका–६ का ४० वर्षीय अन्तबहादुर बिसी, हेटौँडा–१८ का ३५ वर्षीय राजु थिङ र ७२१९ नम्बर मोटरसाइकलका चालक हेटौँडा–१८ का ३८ वर्षीय सूर्यमणि खतिवडा घाइते भएका छन् । अन्तबहादुर र राजुको अवस्था मध्यम रहे पनि सूर्यमणिको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

यस्तै शुक्रबार दिउँसो १ बजेर ५५ मिनेटको समयमा मदन भण्डारी लोकमार्गअन्तर्गत मकवानपुरको बागमती गाउँपालिका–७, पाथिभरामा कारले रोकिराखेको अटोलाई ठक्कर दिँदा दुर्घटना भएको छ । हेटौँडाबाट ताप्लेजुङतर्फ जाँदै गरेको प्र ३–०१–०२३ च ३०८१ नम्बरको कारले रोकिराखेको ना २ ह ४५९२ नम्बर अटोलाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ । कारको ठक्करबाट अटोमा सवार बागमती गाउँपालिका–७ की ४० वर्षीया चिनीमाया रुम्बाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा परी अटो चालक बागमती–८ का २५ वर्षीय यमन राई सामान्य घाइते भएका छन् भने अटोमा सवार बागमती–७, शान्तिपुरका ११ वर्षीय सुबिन पुलामी मगर मध्यम घाइते भएका छन् । कार चालक काठमाडौं जिल्लाको गोकर्णेश्वर नगरपालिका–६ की ३५ वर्षीया सुजना लामालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*