‘स्वस्थ नागरिक, समृद्ध प्रदेश’ हाम्रो साझा लक्ष्य : स्वास्थ्य मन्त्री थापा
विश्व स्वास्थ्य दिवस २०२६ को अवसरमा बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापा मगरले सम्पूर्ण नागरिकमा शुभकामना व्यक्त गर्दै मानव, पशुपन्छी र पर्यावरणीय स्वास्थ्यबिचको अन्तरसम्बन्धलाई केन्द्रमा राखेर ‘एक स्वास्थ्य’ अवधारणालाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभएको छ।
मन्त्री थापाले विश्व स्वास्थ्य दिवसको यस वर्षको मूल सन्देश ‘मानव, पशुपन्छी र पर्यावरणको हित, विज्ञान र एक स्वास्थ्य हाम्रो जित’ रहेको उल्लेख गर्दै मानव स्वास्थ्य, जनावरको स्वास्थ्य र वातावरणीय स्वास्थ्य एक अर्कासँग गहिरो रूपमा जोडिएको स्पष्ट सन्देश दिएको बताउनुभएको छ। उहाँले आजको विश्वमा देखिएका विभिन्न सरुवा रोग, महामारी, वातावरणीय प्रदूषण, जलवायु परिवर्तन, प्रति जैविक प्रतिरोधको जोखिम तथा खाद्य सुरक्षासम्बन्धी चुनौतीहरूलाई सम्बोधन गर्न एकीकृत दृष्टिकोण अपरिहार्य भइसकेको बताउनुभएको छ।

शुभकामना मन्तव्यमा मन्त्री थापाले बागमती प्रदेश सरकारले नागरिकको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्दै रोगको रोकथाम, नियन्त्रण तथा उपचारका कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गर्दै आएको उल्लेख गर्नुभएको छ। साथै विद्यालय स्वास्थ्य कार्यक्रम, वातावरणीय सरसफाइ, मानसिक स्वास्थ्य प्रवर्द्धन, पोषण सुधार, जीवनशैलीजन्य रोग नियन्त्रण तथा स्वस्थ सहर निर्माणजस्ता क्षेत्रमा विशेष ध्यान दिइएको उहाँले बताउनुभयो । ‘वाग्मती प्रदेश सरकारले नागरिकको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्दै रोगको रोकथाम नियन्त्रण तथा उपचारका कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गर्दै आइरहेको छ’, उहाँले भन्नुभएको छ ।
उहाँका अनुसार ‘एक स्वास्थ्य’ अवधारणालाई व्यवहारमा उतार्दै स्वास्थ्य क्षेत्रसँग सम्बन्धित अन्य क्षेत्रहरू, जस्तै कृषि, पशुपालन, वातावरण तथा स्थानीय तहहरूसँग समन्वय गरेर समग्र स्वास्थ्य सुधारको अभियानलाई थप सुदृढ बनाइएको छ। ‘सबै नीतिमा स्वास्थ्य’ को अवधारणाअनुसार विभिन्न कार्यक्रम सञ्चालन गरिएको जनाउँदै उहाँले यस अभियानमा सबै सरोकारवालाको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्नुभयो।
यस अवसरमा मन्त्री थापाले सम्पूर्ण नागरिकलाई स्वस्थ जीवनशैली अपनाउन, सरसफाइमा विशेष ध्यान दिन, वातावरण संरक्षण गर्न, स्वास्थ्य सेवाको नियमित उपयोग गर्न तथा स्वास्थ्यकर्मीको सिफारिसमा मात्र एन्टिबायोटिक औषधिको सेवन गर्न आग्रह गर्नुभएको छ।
उहाँले स्वास्थ्यकर्मी, सरोकारवाला निकाय तथा विकास साझेदारहरूको योगदानप्रति धन्यवाद व्यक्त गर्दै ‘स्वस्थ नागरिक, समृद्ध प्रदेश हाम्रो साझा लक्ष्य हो’ भन्ने सन्देश दिनुभएको छ। ‘स्वस्थ नागरिक, समृद्ध प्रदेश हाम्रो साझा लक्ष्य हो, यस लक्ष्य प्राप्तिका लागि सबैको सक्रिय सहभागिता र प्रतिबद्धता आवश्यक छ’, थापाको धारणा छ ।
शुभकामना सन्देशमा उहाँले विश्व स्वास्थ्य दिवस २०२६ ले सबैलाई स्वस्थ, सुरक्षित र दिगो भविष्य निर्माणतर्फ अग्रसर गराओस् भन्ने कामना व्यक्त गर्नुभएको छ।










