निःशुल्क आयुर्वेदिक स्वास्थ्य शिविरमा २ सय बढी लाभान्वित

सबथोक
२०८२ चैत्र २, सोमबार ११:००

हेटौ‍डा। रामेछापको गोकुलगंगा गाउँपालिका–२ ठोसेका २ सय भन्दा बढी बासिन्दाले निःशुल्क आयुर्वेदिक स्वास्थ्य सेवा पाएका छन् ।

बागमती प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गत सञ्चालनमा रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले शनिबार एक दिने निःशुल्क आयुर्वेदिक स्वास्थ्य उपचार शिविर सञ्चालन गरेको हो।

गोकुलगंगा गाउँपालिकाको सहजिकरणमा आयोजित उक्त शिविरमा दम, हाडजोर्नी दुखाइ, ग्यास्ट्रिक, खोकी, एलर्जी तथा छालासम्बन्धी पुराना रोगका बिरामीहरूको सङ्ख्या बढी देखिएको चिकित्सालयकी डा. सविता भण्डारीले बताइन्। उनका अनुसार शिविरमा गोकुलगंगा गाउँपालिकाका साथै दोलखाको जिरी नगरपालिकाका स्थानीयले पनि सेवा लिएका थिए।

डा. भण्डारीका अनुसार शिविरमा २ सयभन्दा बढी बिरामीको स्वास्थ्य परीक्षण गरिएको थियो। ‘स्वास्थ्य शिविरमा दम, हाडजोर्नी दुखाइ, ग्यास्ट्रिक, खोकी, एलर्जी र छालासम्बन्धी पुराना रोगका बिरामीहरू बढी देखिए,’ उनले भनिन्।

शिविरमा आएका बिरामीहरूको स्वास्थ्य परीक्षणका साथै निःशुल्क औषधि वितरण गरिएको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापका प्रमुख दीपककुमार कार्कीले जानकारी दिए।

गाउँमै स्वास्थ्य शिविर सञ्चालन भएपछि सेवा लिन निकै सहज भएको स्थानीयले बताएका छन्। लामो समयदेखि जिउ चिलाउने समस्याबाट पीडित स्थानीय पूर्णबहादुर कार्कीले हिँडडुल गर्न नसक्ने ज्येष्ठ नागरिक तथा महिलाहरूका लागि गाउँमै स्वास्थ्य सेवा उपलब्ध हुनु ठूलो राहत भएको बताए।

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष नवराज पथिकले स्थानीय तहको मागअनुसार जिल्लाका विभिन्न क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गर्ने योजनाअनुरूप गोकुलगंगा गाउँपालिका–२ मा पनि शिविर आयोजना गरिएको बताए।

उनका अनुसार चिकित्सालयले स्वास्थ्य शिविर मात्र नभई मन्थली तथा आसपासका क्षेत्रमा साप्ताहिक रूपमा घरदैलो सेवा पनि सञ्चालन गर्दै आएको छ। विभिन्न टोलमा पुगेर प्रदान गरिने सो सेवामा पनि स्थानीयको उल्लेख्य सहभागिता रहने गरेको उनले बताए।

सदरमुकाम मन्थलीमा सञ्चालनमा रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले बिरामी जाँच, निःशुल्क औषधि वितरण, पूर्वकर्म÷पञ्चकर्म, फिजियोथेरापी, अकुपञ्चर, प्याथोलोजी ल्याब, स्तनपान आमा कार्यक्रम तथा ज्येष्ठ नागरिक स्वास्थ्य प्रवद्र्धन लगायतका सेवा प्रदान गर्दै आएको छ। ईकान्तिपुरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*