सुपर एटमा पुगेका पाँच टिम, कसको पल्ला भारी ?
काठमाडौं । भारत र श्रीलंकामा जारी टी–२० विश्वकप २०२६ को आधा खेलहरु सम्पन्न भइसकेका छन्। गएराति अष्ट्रेलियालाई हराउँदै आयोजक श्रीलंका सुपर एटमा प्रवेश गर्यो। भारतले पनि यसअघि नै सुपर एटमा स्थान बनाइसकेको छ। यी दुई आयोजकसहित इंग्ल्यान्ड, वेस्ट इन्डिज र दक्षिण अफ्रिकाले पनि सुपर एटको टिकट काटेका छन्। यसैबीच, ती पाँच टोलिको सुपर एटको यात्रा कस्तो रह्यो भन्नेबारे यहाँ थोरै चर्चा गरौं ।
भारतः
सह–आयोजक भारतले आइतबार कोलम्बोमा पाकिस्तानविरुद्ध ६१ रनको शानदार जित निकाल्दै सुपर एटमा स्थान सुरक्षित गर्यो। टोली प्रतियोगितामा अहिलेसम्म अपराजित छ र तीनै खेल जितेको छ।
तेस्रो टी–२० विश्वकप उपाधिको लक्ष्यसहित भारतले २०२६ संस्करणको सुरुआत अमेरिकाविरुद्ध गर्यो। सुरुवात सहज थिएन, किनकि डिफेन्डिङ च्याम्पियन ७७–६ को कठिन अवस्थामा पुगेको थियो। कप्तान सूर्यकुमार यादवले अविजित ८४ रन बनाउँदै टोलीलाई संकटबाट उकासे र २९ रनको जित दिलाए।
भारतको प्रतिभाको गहिराइ स्पष्ट देखिएको छ, किनकि हरेक खेलमा कम्तीमा एक खेलाडीले जिम्मेवारी लिँदै उत्कृष्ट प्रदर्शन गरेका छन्।
हार्दिक पाण्ड्याको अलराउन्ड प्रदर्शनले नामिबियाविरुद्ध ९३ रनको जित दिलायो भने इशान किशनको आक्रामक ७७ रनले पाकिस्तानविरुद्ध खेल नै एकतर्फी बनायो।
डिफेन्डिङ च्याम्पियन भारतका लागि सबै पक्ष अहिले सही दिशामा अघि बढिरहेका छन्।
श्रीलंकाः
सह–आयोजकका लागि अहिलेसम्मको प्रतियोगिता शानदार बनेको छ। कोलम्बोमा आयरल्यान्डविरुद्ध २० रनको जितसहित विश्वकपको यात्रा सुरु गरेपछि टोली लगातार झन् मजबुत बन्दै गएको छ।
पवन रत्नायकेको २८ बलमा ६० रन र कुसल मेन्डिसको ४५ बलमा ६१ रनको उत्कृष्ट प्रदर्शनको आधारमा श्रीलंकाले क्यान्डीमा ओमानविरुद्ध १०५ रनको सशक्त जित निकाल्यो।
सोमबारको प्रदर्शनले विश्वको ध्यान नै तानेको छ। लगातार दोस्रो खेलका लागि क्यान्डीमै घरेलु टोलीले आफूभन्दा उच्च वरियतामा रहेको अष्ट्रेलियाविरुद्ध पूर्ण प्रभुत्व देखायो।
१८२ रनको लक्ष्य उनीहरूले सजिलै पछ्याए, जसमा ओपनर पथुम निसान्काको ५२ बलमा अविजित १०० रन निर्णायक बन्यो। उनी रोकिने अवस्थामै थिएनन्। उनको उत्कृष्ट इनिङ्सको नेतृत्वमा श्रीलंकाले दुई ओभर बाँकी रहँदै आठ विकेटले जित हात पार्दै सुपर एटमा स्थान सुरक्षित गर्यो।
वेस्ट इन्डिजः
विश्वकपका लागि टोली भारत आइपुग्दा वेस्ट इन्डिजको शक्तिशाली ब्याटिङ लाइन–अप सबैको चर्चा बनेको थियो। अहिलेसम्म ब्याट्सम्यानहरूले अपेक्षा अनुसार उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई लगातार तीन जित दिलाएका छन्।
टोलिले स्कटल्याण्डविरुद्ध ३५ रनको जितसहित सुरुआत गरे र नेपालमाथि नौ विकेटको प्रभावशाली जित निकाल्दै सुपर एटमा स्थान सुरक्षित गरे।
तर सबैभन्दा प्रभावशाली प्रदर्शन इंग्ल्यान्डविरुद्ध रह्यो। शेरफेन रदरफोर्डको नेतृत्वमा टोलीले १९६–६ को ठूलो योगफल खडा गर्यो। राम्रो ब्याटिङ पिचमा वेस्ट इन्डिजले इंग्ल्यान्डलाई १६६ रनमै अलआउट गर्दै प्रभावशाली जित दर्ता गर्यो।
वेस्ट इन्डिजका तीव्र गतिका बलरहरूले पनि महत्वपूर्ण प्रभाव पारेका छन्। रोमारियो शेफर्डले स्कटल्याण्डविरुद्ध २० रन खर्चेर ५ विकेट लिए भने जेसन होल्डरले नेपालविरुद्ध २७ रन खर्चेर ४ विकेट लिए।
यसअघि भारतमा आयोजना भएको पुरुष टी–२० विश्वकपमा डारेन साम्मीको नेतृत्वमा वेस्ट इन्डिजले अपेक्षा विपरीत उपाधि जितेको थियो। सामी यसपटक प्रशिक्षकका रूपमा टोलीको नेतृत्व गर्दै पुनः त्यही सफलता दोहोर्याउने आशामा छन्।
दक्षिण अफ्रिकाः
दक्षिण अफ्रिकाले शनिबार न्यूजिल्यान्डविरुद्ध सात विकेटको प्रभावशाली जित हात पार्दै आफ्नो अपराजित यात्रा कायम राख्यो। मात्र ४४ बलमा शानदार ८६ रन बनाएका कप्तान एडेन मार्करम जितका मुख्य नायक बने।
अघिल्लो संस्करणमा उपविजेता बनेको दक्षिण अफ्रिका यसपटक एक कदम अगाडि बढ्ने लक्ष्यसहित २०२६ विश्वकपमा उत्रिएको छ।
टोलिले क्यानडाविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्यो। ब्याटिङ एकाइले सामूहिक रूपमा उत्कृष्ट प्रदर्शन गर्दै २१३ रनको ठूलो योगफल तयार गर्यो। मार्करमले अर्धशतकसहित अगुवाइ गरे भने डेभिड मिलर र ट्रिस्टन स्टब्सले अन्त्यतिर तीव्र गति दिए। त्यसपछि लुंगी एनगिडीले चार विकेट लिँदै ५७ रनको सहज जित सुनिश्चित गरे।
दोस्रो खेलमा अफगानिस्तानविरुद्ध दक्षिण अफ्रिकाको धैर्यताको कडा परीक्षा भयो । रहमानुल्लाह गुरबाजको प्रेरणादायी प्रदर्शनपछि अफगानिस्तानले दुईवटा सुपर ओभरसम्म खेल तान्दै रोमाञ्चक बनायो। तर अफ्रिकाले संयमता कायम राख्दै दोस्रो सुपर ओभरमा चार रनले नाटकीय जित हात पार्यो।
शक्तिशाली प्रदर्शन र दबाबमा पनि सन्तुलित खेल प्रस्तुत गर्दै आएको टोलि आगामी चुनौतीका लागि तयार देखिन्छ।
इंग्ल्यान्डः
प्रतियोगितामा इंग्ल्यान्ड जोखिमपूर्ण अवस्थामा अघि बढिरहेको छ। नेपालविरुद्ध अपेक्षाभन्दा निकै साँघुरो जितबाट प्रतियोगिताको सुरुआत गरेको टोलिले सोमबार इटालीविरुद्ध उच्च स्कोरिङ रोमाञ्चक खेलमा जोगिँदै समूह चरण सकायो।
हालसम्मका चार खेलमध्ये उनीहरूको सबैभन्दा प्रभावशाली प्रदर्शन स्कटल्याण्डविरुद्ध पाँच विकेटको जित थियो।
समूह ‘सी’ को चर्चित भिडन्तमा भने वेस्ट इन्डिजले इंग्ल्यान्डलाई स्पष्ट रूपमा पराजित गरेको थियो।
तर इटालीविरुद्ध साम करन र विल ज्याक्सको अलराउन्ड प्रदर्शनबाट इंग्ल्यान्डले सकारात्मक संकेत पाएको छ।
इडेन गार्डेन्समा इंग्ल्यान्डको ब्याटिङ गहिराइ स्पष्ट देखियो, जहाँ टोली १०५–५ को अवस्थाबाट उक्लिँदै २०२–७ को विशाल योगफल बनाउन सफल भयो। अन्तिम समयमा जोडिएका ती अतिरिक्त रनहरू निर्णायक सावित भए, जसका कारण इटालीले २४ रनको संघर्षपूर्ण हार बेहोर्न बाध्य भयो। -नेपालप्रेसबाट










