शिक्षाको गुणस्तर बढाउँदै विद्यालय नर्स कार्यक्रम

संवाददाता
२०८२ बैशाख ५, शुक्रबार १२:४०

हेटौंडा । प्रदेश सरकारको ‘एक विद्यालय एक नर्स’ कार्यक्रमले बागमती प्रदेशमा शिक्षाको गुणस्तरमा सहयोग पुर्‍याउन प्रभावकारी बन्दै गएको छ । यो कार्यक्रमका कारण हाल बागमतीका आठ सयभन्दा बढी माध्यमिक विद्यालयमा नर्सिङ सेवाको पहुँच पुगेको छ । विद्यालय तहबाटै बालबालिकालाई सन्तुलित र पोषिलो खानेकुराका साथै स्वास्थ्य सजगता अपनाउन उत्प्रेरित गर्दै स्वास्थ्य, सरसफाइ र पोषण प्रवर्द्धन गर्न विद्यालयमा नर्स कार्यक्रम राखिएको हो । बागमती प्रदेशका ८४८ माध्यमिक विद्यालयमा नर्सिङ सेवा उपलब्ध छ । 

प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार बागमतीका १३ जिल्लाका ११९ वटै पालिकालाई विद्यालय नर्स कार्यक्रमले समेटेको छ । सहरी क्षेत्रदेखि ग्रामीण भेगका माध्यमिक विद्यालयमा करार सेवामा नर्स नियुक्त गरी खटाइएको मन्त्रालयले जनाएको छ । किशोर–किशोरीको यौन तथा प्रजनन स्वास्थ्य सुधारलाई मध्यनजर गर्दै तत्कालीन सरकारले ०७५ बाट ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सञ्चालनमा ल्याएको हो । नागरिकमा सकारात्मक र प्रभावकारी बनाउने गरी प्रदेश सरकारले ६ वर्षअघि सुरु गरेको कार्यक्रम हाल ६२ प्रतिशत विद्यालयमा पुगेको छ ।

एक हजार ३६२ माध्यमिक तहका विद्यालयमध्ये प्रदेशको सबैभन्दा बढी विद्यालय रहेको काठमाडौंमा १७९ विद्यालयमध्ये १०८ वटामा यो कार्यक्रम लागू भइसकेको छ । यस्तै, सबैभन्दा कम विद्यालय रहेको रसुवामा १९ माध्यमिकमध्ये १८ वटा विद्यालयमा कार्यक्रम लागू भएको छ । भक्तपुरको ४५ मध्ये २५, चितवनको १०८ मध्ये ७६, धादिङको १३६ मध्ये ७९, दोलखाको ८४ मध्ये ६४, काभ्रेको १४६ मध्ये ८२, ललितपुरको ७८ मध्ये ५४, मकवानपुरको १०० मध्ये ६२, नुवाकोटको १२२ मध्ये ७६, रामेछापको ८८ मध्ये ५१, सिन्धुलीको १२२ मध्ये ८० र सिुन्धुपाल्चोकको १३५ मध्ये ७६ विद्यालयमा नर्स सेवा सञ्चालनमा रहेको छ ।- नयाँ पत्रीकाबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*