छुट्टाछुट्टै घटनामा मकवानपुरमा २ को मृत्यु

संवाददाता
२०८१ चैत्र २८, शुक्रबार १४:२०

हेटाै‌डा । मकवानपुरमा भएका दुई छुट्टाछुट्टै घटनामा दुईजनाको ज्यान गएको छ । एकजनाको करेन्ट लागेर तथा अर्का एकको स्कुटरको ठक्करबाट मृत्यु भएको हो ।

घर सफा गर्ने क्रममा शुक्रबार करेन्ट लागेर मकवानपुरगढी गाउँपालिका–५ सिमलटारका ५५ वर्षीय भूमिनन्द तिमल्सिनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी श्यामु अर्यालले जानकारी दिए । करेन्ट लागेर गम्भीर भएका तिमल्सिनालाई उपचारका लागि हेटौंडा अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो ।

यस्तै, मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१६ गुरुधामचोकमा बिहीबार स्कुटरको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्रीको शुक्रबार मृत्यु भएको छ ।

मृत्यु हुनेमा गुरुधामचोकै ७६ वर्षीय अनिरुद्र बस्ताकोटी छन् । हेटौंडा–धरान–चतरा सडकखण्डअन्तर्गत ठूलोदमारबाट हटियातर्फ जाँदै गरेको बा. प०३–०४ प ९५२६ नम्बरको स्कुटरले बस्ताकोटीलाई ठक्कर दिएको थियो ।

गम्भीर घाइते भएका उनलाई उपचारका लागि चितवन लगिएको थियो । नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर स्कुटरका चालक हेटौंडा उपमहानगरपालिका–१७ ठूलोगँगटेका २७ वर्षीय सन्दीप थापा घाइते भएका छन् । उनको चुरेहिल अस्पताल हेटौंडामा उपचार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*