हारेको वडामा विकास लैजादै एमाले
हेटौंडा। स्थानीय तह निर्वाचन र उपनिर्वाचनमा समेत आफूले अपेक्षित मत ल्याउन नसके पनि नेकपा एमाले जनताको माझ जनआवश्यकतालाई सम्बोधन गर्न लागि परेको छ ।
हार जित आफ्नो ठाउँ छ, जनताको समस्याको सम्बोधन पार्टीको कर्तव्य सम्झेर लागि परेको एमाले नेता तथा बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठले बताए । हेटौडा उपमहानगरपालिका -१२ स्थित बीचरोडदेखि विनोद वाइवाको घर हुँदै घिसिङटोल चौतारा जोड्ने सडकमा स्ल्याब ढलान कार्य सुरु गरेपछिको प्रतिक्रियामा श्रेष्ठले यस्तो बताएका हुन् ।
प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को विनियोजित २० लाख रुपैयाँको बजेटबाट ६ मिटर चौडा रहेको २२० मिटर लामो स्ल्याब ढलान सुरु गरिएको हो। निर्माण कार्यको सुरुवात गर्दै पूर्वमन्त्री एवं सांसद श्रेष्ठले बजेटको पूर्ण सदुपयोग गर्दै गुणस्तरीय निर्माण कार्यको लागि उपभोक्ता समितिलाई निर्देशन दिए । उनले हेटौडा उपमहानगरमापछि गाभिएका वडाहरूको विकासका लागि भौतिक पूर्वाधार, कृषि, सिंचाईलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर प्रदेश सरकारबाट बजेट विनियोजन गर्दै आएको बताए ।
१२ नम्बर वडाका निर्वाचित वडा सदस्य महेश भट्टराईले प्रदेश सरकारबाट हेटौडा १२ नम्बर वडाको समग्र विकासको लागि थुप्रै योजनाहरू पार्न विशेष भूमिका खेल्नुभएको भन्दै सांसद श्रेष्ठको प्रशंसा गरे । साथै आगामी वर्षमा पनि अन्य योजनाहरूको लागि समेत श्रेष्ठसँग आग्रह गरे । यस योजनामा हेटौडा उपमहानगरपालिकाले थप बजेट विनियोजन गरेको र जसबाट करिब १०० मिटर स्ल्याब थप हुने उपभोक्ता समिति अध्यक्ष बिरन घिसिङले जानकारी दिए ।
कार्यक्रममा हेटौडा १२ को उपनिर्वाचनमा वडाध्यक्षका प्रत्याशी राजेश नगरकोटी, स्थानीय समाजसेवी अर्जुनप्रसाद अर्याल, विनय मगर लगायतको सहभागिता थियो










