विद्यार्थीको नजिकको साथीसँगै अभिभावक बन्दै विद्यालय नर्स
भरतपुर, २३ फागुन । धेरै बालबालिका र किशोरकिशोरीले आफ्नो मनका कुरा अभिभावकसँग पनि राख्न हिच्किचाउँछन् । नजिकको साथै नै उनीहरुको मनको कुरा सुन्ने र बुझ्नेमा पर्छन् । अभिभावकसँग कुरा खोलिहाले पनि कसैले बाबा, कसैले आमा त कसैले दिदी वा दाई मध्ये एक जनासँग मात्रै आफ्ना मनका कुरा खोल्ने गर्छन् । तर यतिबेला विद्यालयमा रहेका नर्सहरु विद्यार्थीहरुका नजिकका साथीसँगै अभिभभावक बनिरहेका छन् ।
स्वास्थ्य समस्याको कुरा त भईनै हाले उनीहरु यौन स्वास्थ्यका कुराहरु खुलेर नर्ससँग राख्न थालेका छन् । त्यसो त मानसिक समस्याको फेहरिस्त सुनाउन पनि उनीहरुलाई विद्यालय नर्स सहज साथी बनेका छन् । बागमती प्रदेश सरकारले ‘एक विद्यालय एक नर्स’ कार्यक्रम ल्याएसँगै धेरै सरकारी विद्यालयमा यतिबेला नर्स पुगेका छन् । उनीहरुले स्वास्थ्य उपचारसँगै परामर्श दिईरहेका छन् ।
नारायणी नमुना मावि भरतपुरको एक कोठामा तौल, उचाइ नाप्नको लागि मेसिनहरु, महिनावारीमा प्रयोग हुने हट ब्याग र प्याड, सामान्य ज्वरो रुघा–खोकी, घाउ–चोटपटकका लागि औषधीहरु छन् । आरामको लागि बेडहरु छन् । रोगहरुबारे लेखिएका सन्देशमूलक जानकारीहरु भित्ताभरि टाँसिएका छन् । नर्स आयुषी बस्याल विद्यार्थीको कतिबेला रक्तचाप त कतिबेला ज्वरो नापिरहेकी हुन्छिन् । ज्वरो आएर आराम गरिरहेका विद्यार्थीलाई पानी पट्टी लगाउन पनि भ्याईरहेकी हुन्छिन् । निन्याउरो अनुहार लगाएर आएका विद्यार्थीहरु यहाँ आएपछि ‘हल्का’ महसुस गरेजस्तो देखिन्छन् ।
बाग्मती प्रदेश सरकारले सञ्चालन गरिरहेको ‘एक विद्यालय, एक नर्स’ कार्यक्रमअन्तगर्त नारायणी नमुना मावि भरतपुरको नर्स रुमको दृश्य हो यो । नारायणी नमुना माविको कक्षा १२ मा अध्ययनरत प्रमिशा ढकाल विद्यालयमा पढ्दा पढ्दै बिरामी जस्तो महसुस हुँदा त्यहाँ पुग्छिन् । आफ्नो समस्या राख्छिन् र पूर्ववत पढाइमा फर्किन्छिन् ।
उनलाई महिनावारीमा विद्यालयमा पढ्न आउने ‘मुड’ हुँदैन । तर आजभोलि उनी आउँछिन् । विद्यालयमा गाह्रो भइहालेमा पनि उनी नर्स रुममा जान्छिन् । आफ्नो समस्या बताउँछिन् र आराम गरेर फर्किन्छिन् । “बिरामी हुँदा हाम्रो पढाइ छुट्थ्यो अहिले हामी केही समय निकालेर भएपनि यहाँ आएर औषधी खाने, आराम गर्ने गरेर फर्कन्छांै । पढाइ पनि राम्रो भएको छ ।” प्रमिशा खुलस्त सुनाउँछिन् ।
नर्सले अभिभावक झै ख्याल राखेको भन्दै उनले खुशी पनि व्यक्त गरिन् । मुना सापकोटा पनि विद्यालय नर्स आएपछि बिरामी हुँदा धेरै सहज भएको बताउँछिन् । “बिरामी भए’सी सिधै घर अथवा अस्पताल जानुपर्दैन । यहाँ आएर आराम गरेर पढ्न जान पाईन्छ । नर्स म्यामसँग कुराहरु सुनाउन पनि सहज लाग्छ” उनले अनुभव बताइन् ।
१२ कक्षाकी आयुषा पौडेललाई एकदिन महिनावारी भएकाले विद्यालयमै निकै गाह्रो भयो । उनले नर्ससँग आफ्नो कुरा राखिन् । “त्यो दिन धेरै गाह्रो भएको थियो । दिदी (नर्स)लाई सबै कुरा भनेको थिएँ । दिदीले बेडमा सुतिरहेको बेलामा पनि आएर ब्ल्याङ्केट ओढाइदिने, तातो पानीले पट्टी गरिदिने, हट ब्यागले सेक्ने पनि गरिदिनुभयो” आफ्नै दिदीले झै राखेको ख्याल भन्दै जिन्दगीभरि बिर्सन नसक्ने अनुभूती महसुस गरेको उनले सुनाइन् ।
गत भदौयता नारायणी नमुना माविमा विद्यालय नर्सको रुपमा कार्यरत आयुषी बस्याल यसअघि चितवन मेडिकल कलेजको आइसियुमा कार्यरत थिइन् । उनको लागि पनि विद्यालयमा विद्यार्थीको नर्स हुनुको अनुभूती बेग्लै छ । अस्पताल र विद्यालय फरक कुरा हुन् भन्ने उनले बुझेकी छिन् । “विद्यालयमा आइसकेपछि क्लिनिकल सेटिङ फरक छ । बिरामीको संख्या र केसहरु पनि फरक छन् ।” अनुभव सुनाउँदै उनी भन्छिन्, “सुरुमा विद्यार्थीहरु आफ्नो समस्या बताउन हिच्किाउथे, विस्तारै चिन्दै बुझ्दै गएपछि अहिले साथीझै ढुक्कसँग खुल्ने भएका छन्” उनी भन्छिन् ।
नर्स रुममा चारवटा बेडको व्यवस्था गरिएको छ । विद्यार्थीहरुको लागि प्याड उपलब्ध गराइन्छ । सामान्य ज्वरो, टाउको दुखाइ, चोटपटक, पेट दुखाइ, प्राथमिक औषधी उपचार त्यहीँ गरिन्छ । धेरै नै बिरामी भएको खण्डमा अभिभावकको जिम्मा लगाएर अस्पताल पठाउन मद्दत गर्ने गरेको नर्स आयुषी बताउँछिन् । झण्डै चार हजार विद्यार्थी भएको नारायणी नमुना माविमा विद्यार्थीको अनुपात धेरै भएकाले आफूले चाहेजस्तो गुणस्तरीय सेवा दिनमा भने चुनौती रहेको उनी स्विकार्छिन् । “नर्स र विद्यार्थीको अनुपात मिलाएको भए अझै प्रभावकारी तवरले सेवा दिन सकिन्थ्यो भन्ने लाग्छ । काउन्सिलिङ पनि गर्न सकिन्थ्यो ।”
प्रदेश सरकारको कार्यक्रम अन्तर्गत तीन वर्ष यता नारायणी नमुना मावि लगायतका भरतपुर महानगरका ३५ वटा विद्यालयमा विद्यालय नर्सको व्यवस्था गरिएको छ । विद्यालयका प्रधानाध्यापक रामशरण दुवाडी यो कार्यक्रमको तारिफ गर्छन् । उनी भन्छन्, “धेरै विद्यार्थी भएको ठाउँमा स्वास्थ्यकर्मी छुट्टै कोही हुनुहुँदैन्थ्यो । विद्यालयमा नर्स भइसकेपछि सामान्य किसिमका प्राथमिक उपचारदेखि लिएर विद्यार्थीका व्यक्तिगत सरसफाइ, मनोपरामर्शका कुराहरु समेत विद्यालय नर्स कार्यक्रम मार्फत हुने गरेको छ ।”
विद्यार्थी संख्याको अनुपात अनुसार नर्सको दरबन्दी हुँदा अझै गुणस्तरीय सेवा दिन सकिने उनको भनाइ छ । अहिले पिसिएल नर्सको दरबन्दी रहेको विद्यालय नर्स कार्यक्रममा हेल्थ एसिस्टेन्टसम्मको हुँदा अझै प्रभावकारी हुने प्रअ दुवाडी बताउँछन् । यो कार्यक्रलाई प्रदेश सरकारले थप सुधार गर्दै निरन्तरता दिदै सबै विद्यालयमा लागु गर्नुपर्ने उनको सुझाव छ ।
विद्यालय तहमा नै विद्यार्थीहरुको समग्र पोषण, मानसिक स्वास्थ्य, किशोर–किशोरी यौन तथा प्रजनन् स्वास्थ्य प्रबद्र्धन, सरसफाई गर्न तथा सरुवा र नसर्ने रोग रोकथाम बारे जानकारी गराई स्वस्थ जीवन यापन अपनाउन उत्प्रेरित गर्ने उद्देश्यले वाग्मती प्रदेशले एक नर्स एक विद्यालय कार्यक्रम सञ्चालन गर्दै आएको बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापामगर बताउँछन् । विद्यालय नर्स कार्यक्रमलाई अझै प्रभावकारी र आवश्यकता अनुसार सबै विद्यालयमा पुग्ने गरी विस्तार गर्ने आफ्नो योजना रहेको उनको भनाई छ ।










