हेटौंडामा सवारी चाप बढेपछि रोपवे चौरमा सुमो पार्किङ गरिने

सबथाेक
२०८३ आश्विन १९, सोमबार १४:१४

मुख्य बजार क्षेत्रमा टाटा सुमो र ईभीका काउन्टर तथा सवारी साधनका कारण बढेको ट्राफिक चाप व्यवस्थापन गर्न हेटौंडा उपमहानगरपालिका–१ चौकीटोलस्थित रोपवे चौरमा सुमो पार्क सञ्चालन गरिने भएको छ ।

चाडपर्वलाई लक्षित गरी सोमबारदेखि रोपवे चौरमा सुमो तथा अन्य सवारी साधन व्यवस्थापन गर्ने तयारी गरिएको हो । चौरलाई सवारी पार्किङ गर्न मिल्ने गरी डोजर प्रयोग गरेर सम्याइएको छ भने सुमो तथा बसका काउन्टर सञ्चालनका लागि कोठासमेत तयार गरिएको छ ।

‘सोमबारदेखि चौकीटोलस्थित रोपवे चौरमा टाटा सुमो पार्क सञ्चालनमा आउनेछ,’ हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले भनिन्, ‘हेटौंडा बजार क्षेत्रको अव्यवस्थित सवारी सञ्चालनलाई व्यवस्थापन गर्न रोपवे चौरलाई प्रयोगमा ल्याउन लागेका हौं ।’

जिल्ला प्रशासन कार्यालय र उपमहानगरपालिकाले २०७५ सालमा सञ्चालनमा ल्याइएको सुमो पार्क तथा पार्किङस्थललाई पुनः सञ्चालन गर्न लागेका हुन् । उत्तरी क्षेत्र तथा काठमाडौं ओहोरदोहोर गर्ने सुमो र अन्य सवारी साधनलाई एकै स्थानमा व्यवस्थापन गर्ने योजना छ । यात्रुले त्यहीँबाट टिकट लिने र सवारी साधन पनि त्यहीँबाट छुट्ने व्यवस्था मिलाइनेछ ।

हाल हेटौंडाको मुख्य बजार, बसपार्क, चौकीटोल ओरालो, टीसीएन रोड र संगमचोकलगायतका स्थानमा सुमो तथा बसका काउन्टर सञ्चालनमा छन् । काउन्टर र सवारी सडक आसपासमै राख्दा यात्रु चढाउने–ओराल्ने क्रममा मुख्य बजार क्षेत्रमा ट्राफिक जाम बढ्नुका साथै दुर्घटनाको जोखिमसमेत बढेको छ ।

२०७५ सालमा उद्घाटन गरिएको रोपवे चौरको सुमो पार्क कोभिड–१९ महामारीका कारण नियमितरूपमा सञ्चालन हुन सकेको थिएन । अहिले बजार क्षेत्रमा अव्यवस्थित रूपमा सञ्चालन भइरहेका सुमोलाई एकीकृत गरी पार्क सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको मेयर लामाले बताइन् । उनका अनुसार यसबाट बजारको ट्राफिक व्यवस्थापन सहज हुनुका साथै अव्यवस्थित काउन्टरका कारण हुने समस्या र बिचौलियाको प्रभावसमेत कम हुनेछ ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले रोपवे चौरमा सवारी व्यवस्थापन गर्ने विषयलाई व्यवसायीले पनि आत्मसात गर्नुपर्ने बताए । ‘प्रहरीले निगरानी बढाउनुपर्छ र सम्बन्धित सरोकारवालाले पनि चासो दिनुपर्छ,’ उनले भने ।

उनका अनुसार चाडपर्वलाई लक्षित गरी तत्कालका लागि रोपवे चौरलाई अस्थायी रूपमा सञ्चालन गरिनेछ । पछि उपमहानगरपालिकाले व्यवस्थित पार्किङस्थल निर्माण गरेपछि स्थायीरूपमा सञ्चालन गर्ने तयारी छ ।

प्रशासन कार्यालयका अनुसार मकवानपुरको उत्तरी क्षेत्र तथा काठमाडौं आउने–जाने गरी हेटौंडाबाट दैनिक करिब ५ सय सुमो सञ्चालन हुन्छन् । ती सवारी साधनलाई एकै स्थानमा व्यवस्थापन गर्दा मुख्य बजार क्षेत्रमा हुने सवारी चाप र अव्यवस्थित पार्किङ घट्ने अपेक्षा गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी प्रमुख रमेश विष्टका अनुसार सुमो काउन्टरले यात्रुलाई बीच बाटोमै बोलाउने तथा सडक आसपासमै सवारी पार्क गर्ने प्रवृत्तिका कारण मुख्य बजार क्षेत्रमा ट्राफिक व्यवस्थापनमा समस्या हुँदै आएको छ। सवारी साधनलाई रोपवे चौरमा एकीकृत गर्न सके बजार क्षेत्रको ट्राफिक व्यवस्थापन सहज हुने उनले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*