​बागमती प्रदेशमा ‘विश्व डुबेर हुने मृत्यु रोकथाम दिवस’ मनाइयो 

संवाददाता
२०८३ श्रावण ८, शुक्रबार १६:३२

बिश्व स्वास्थ्य सङ्गठनको आह्वानमा हरेक वर्ष जुलाई २५ मा मनाइने ‘विश्व डुबेर हुने मृत्यु रोकथाम दिवस’ को अवसरमा बागमती प्रदेशको स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयमा सरोकारवालाहरू बीच विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। 

मन्त्रालयका सचिव डा. सुमित्रा गौतमको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा विभिन्न मन्त्रालय, सुरक्षा निकाय र स्वास्थ्य क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। यस वर्ष यो दिवस “डुबेर हुने मृत्यु रोक्न एकजुट होऔं भन्ने नाराका साथ विश्वभर मनाइँदै छ।

​कार्यक्रममा मन्त्रालयका चिकित्सा सेवा महाशाखा प्रमुख दिनेश रुपाखेतीले तथ्याङ्क प्रस्तुत गर्दै विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वभर प्रतिवर्ष ३० लाखभन्दा बढी मानिसको पानीमा डुबेर मृत्यु हुने गरेको जानकारी दिनुभयो। जसअनुसार प्रत्येक घण्टा ३० जनाको ज्यान जाने गरेको छ भने तीमध्ये २४ प्रतिशत ५ वर्षमुनिका बालबालिका रहेका छन्। यो १ देखि ४ वर्ष उमेर समूहका बालबालिकाको मृत्युको चौथो प्रमुख कारण बन्न पुगेको छ। डुबेर हुने मृत्युमध्ये करिब ९२ प्रतिशत नेपालजस्ता कम र मध्यम आय भएका देशहरूमा हुने गरेको अध्ययनले देखाएको छ।

​नेपाल भू-परिवेष्टित देश भए पनि यहाँ पर्याप्त नदी, ताल, पोखरी र अन्य जलस्रोतहरू रहेका छन्। पछिल्लो समय स्वीमिङ पुलको प्रयोग फेसनका रूपमा बढे पनि खोला, कुलो, खुला इनार, खाल्डाखुल्डी तथा आकस्मिक बाढीमा डुबेर अकालमा मानिसहरूले ज्यान गुमाउने गरेका छन्। नेपाल प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७१/७२ मा ५ सय ५० जनाको डुबेर मृत्यु भएकोमा आ.व. २०८०/८१ सम्म आइपुग्दा यो सङ्ख्या बढेर ८ सय ६७ पुगेको छ। विगत १० वर्षमा ७ हजार ३५ जनाको मृत्यु भएको प्रहरीको अनुसन्धानमा दर्ता भएको छ। तर, विश्व स्वास्थ्य सङ्गठनको सन् २०२४ को प्रतिवेदनले नेपालमा वार्षिक करिब १ हजार ६ सय जना दैनिक ४ जनाभन्दा बढीको डुबेर मृत्यु भैरहेको छ। नेपालमा विशेष गरी मधेस र लुम्बिनी प्रदेशमा यस्ता घटना धेरै देखिन्छन्। बालबालिका, जलाशय नजिकका बासिन्दा, माछा मार्ने, पौडी खेल्ने र मदिरा वा लागू पदार्थ सेवन गरी नदी-खोला तर्न खोज्ने व्यक्तिहरू यसको उच्च जोखिममा छन्।

​कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मोहन बहादुर खाँडले प्रदेशका विभिन्न जिल्लामा डुबानका कारण हुने मृत्युको अवस्था र उद्धारमा प्रहरीको भूमिकाबारे प्रकाश पार्नुभएको थियो। बागमती प्रदेशमा आ.व. २०८०/८१ मा १८ जना, आ.व. २०८०/८२ मा १७ जना र आ.व. २०८२/८३ मा १६ जनाको डुबेर मृत्यु भएको तथ्याङ्क छ। यद्यपि, प्रहरीमा दर्ता नभई भवितव्य मानेर अन्त्येष्टि गरिएका घटनाहरू अझै धेरै हुन सक्ने छलफलमा बताइएको थियो।

​त्यस्तै, आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयका प्रतिनिधि किशोर तामाङले मन्त्रालयले डुबानबाट हुने मृत्यु कम गर्न ४३ वटा स्थानीय तहमा स्वयंसेवकहरूलाई तालिम दिएर परिचालन गरेको जानकारी गराउनुभयो। चितवनको नारायणी नदी र सिन्धुलीको खुर्कोटमा स्वयंसेवकहरू खटाइएको र नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलाई अत्यावश्यक सुरक्षा सामग्री वितरण गरिएको उहाँले बताउनुभयो।

​अन्तरक्रियामा विश्व स्वास्थ्य सङ्गठनका प्रदेश स्वास्थ्य अधिकृत हरि भुसालले पानीमा डुबेर हुने मृत्यु भयानक जनस्वास्थ्य समस्या भए पनि ओझेलमा परेकाले यसलाई प्राथमिकतामा राखेर नीतिगत निर्णय र विद्यालयस्तरमा पौडी सिप विकास गर्नुपर्ने बताउनुभयो। रेडक्रस र जनस्वास्थ्य कार्यालयका प्रतिनिधिहरूले पनि विपद् व्यवस्थापन र खाल्डाखुल्डी पुर्नेजस्ता काममा सबै निकाय बीच समन्वय हुनुपर्नेमा जोड दिए।

​कार्यक्रमको सभाध्यक्षता गर्नुभएकी मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमले केवल एक दिन दिवस मनाएर मात्रै मृत्यु रोक्न नसकिने भएकाले ठोस कदम चाल्नुपर्ने बताउनुभयो। उहाँले स्थानीय तहसँगको समन्वयमा विद्यालय स्तरको पाठ्यक्रममा डुबेर हुने मृत्यु रोकथामका विषय समावेश गर्न, विद्यालय नर्सहरूको क्षमता विकास गर्न र अन्तर-मन्त्रालय समन्वय बढाउन निर्देशन दिनुभयो। आगामी वर्षका कार्यक्रमहरूमा स्रोत परिचालन गरी जीवन सुरक्षा तालिम तथा युवा स्वयंसेवक परिचालनका कार्यक्रमहरूलाई निरन्तरता दिइने उहाँको भनाइ थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*