बागमती प्रदेश सभाको अधिवेशन मंगलबार बोलाउन सिफारिस

सबथोक
२०८२ चैत्र २३, सोमबार १०:४७

बागमती प्रदेश सरकारले प्रदेश सभाको हिउँदे अधिवेशन २४ चैतका लागि आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आइतबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले मंगलबार दिउँसो ४ बजे बस्ने गरी प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङका अनुसार मन्त्रिपरिषद्को सिफारिसअनुसार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले अधिवेशन आह्वान गर्नेछन् । गत २७ साउनपछि प्रदेश सभा बैठक बस्न सकेको थिएन । २३ र २४ भदौको जेन–जी आन्दोलनका क्रममा प्रदेश सभा सचिवालय र सभा हलसहितका संरचनामा आगजनी भएपछि बैठक अवरुद्ध भएको थियो । त्यसपछि ३ मंसिरमा प्रदेश सभाको चालू वर्षे अधिवेशन अन्त्य गरिएको थियो । हाल अस्थायी रूपमा हेटौँडा उपमहानगरपालिकाको पछाडिपट्टि रहेको मुख्यमन्त्री सभाहल मर्मत गरी प्रदेश सभा बैठक सञ्चालन गर्ने तयारी गरिएको मन्त्री तामाङले बताए । मन्त्रिपरिषद् बैठकले प्रदेशमातहतका दुई कर्मचारीलाई मन्त्रालयको सचिवको जिम्मेवारी दिने निर्णय पनि गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सचिवमा कृषि तालिम केन्द्रका निर्देशक सुधीर श्रेष्ठलाई जिम्मेवारी दिइएको छ । सो मन्त्रालयका सचिव वैकुण्ठ अधिकारीले राजीनामा दिएपछि पद रिक्त भएको थियो ।

आर्थिक मामिला तथा योजना मन्त्रालयको निमित्त सचिवमा उपसचिवस्तर नवौँ तहका नुमानन्द अधिकारीलाई जिम्मेवारी तोकिएको छ । बैठकले प्रदेश निजामती सेवा नियमावली, २०८२ स्वीकृत गर्ने, इन्जिनियर सेवा समूहका राजु श्रेष्ठलाई ११औँ तहमा बढुवा गरी भौतिक पूर्वाधार विकास मन्त्रालयमा पदस्थापन गर्ने तथा यातायात पूर्वाधार निर्देशनालय हेटौँडामा कार्यरत नवीन सिंहलाई मन्त्रालयमा पदमिलान गर्ने निर्णय पनि गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*