हेटौँडामा वडा स्तरीय खेलकुद महोत्सव सुरु
हेटौँडा । हेटौँडामा तेस्रो वडा स्तरीय खेलकुद महोत्सव सुरु भएको छ । हेटौँडा उपमहानगरपालिका–४ नं. वडा कार्यालयको आयोजनामा तेस्रो वडा स्तरीय खेलकुद महोत्सव सुरु भएको हो ।
वडा कार्यालय र शैक्षिक गुणस्तर सुधार समितिको व्यवस्थापनमा शुक्रबारदेखि सञ्चालन गरिएको महोत्सवको उद्घाटन अवसरमा बृहत् शैक्षिक खेलकुद र्याली निकालिएको छ । स्थानीय जनप्रतिनिधि, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय सहभागितामा र्याली निकालिएको थियो ।
महोत्सवको उद्घाटन गर्दै संविधानसभा सदस्य तथा प्रमुख अतिथि अनन्त पौडेलले भौतिक पूर्वाधारसँगै खेलकुद र शिक्षालाई समान महत्व दिन थालेकोमा वडा कार्यालयको प्रशंसा गर्नुभयो। उहाँले यस्ता कार्यक्रमले विद्यार्थीको शारीरिक, मानसिक र सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै खेलकुदमार्फत अनुशासन, सहकार्य र नेतृत्व विकास हुने बताउनुभयो। स्थानीय तहले निरन्तर रूपमा यस्ता गतिविधि सञ्चालन गर्नुपर्नेमा उहाँको जोड थियो।
कार्यक्रममा वडा अध्यक्ष नवीन सिग्देलले खेलकुद र शिक्षा ४ नं. वडाको प्रमुख प्राथमिकता रहेको बताउँदै पाठ्यक्रमसँगै सह–पाठ्यक्रम गतिविधिलाई पनि समान महत्व दिनुपर्ने धारणा राख्नुभयो। उहाँले वडाभित्र रहेका विद्यालयहरूमा खेलमैदान, आवश्यक सामग्री र प्रतियोगितामार्फत विद्यार्थीको प्रतिभा पहिचान गरी अगाडि बढाइने योजना रहेको जानकारी दिनुभयो।
कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मोक्तान, टोल विकास संस्था नगर समन्वय समितिका महासचिव शिवहरि दाहाल, आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महमद समिम, भुटनदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्यप्रसाद घिमिरेलगायतले शुभकामना मन्तव्य राख्दै खेलकुद र शैक्षिक गतिविधिले विद्यार्थीमा सकारात्मक ऊर्जा भर्ने विश्वास व्यक्त गर्नुभयो।
शैक्षिक गुणस्तर सुधार समितिका संयोजक श्रीराम दाहालका अनुसार महोत्सवअन्तर्गत विभिन्न खेलकुद तथा शैक्षिक प्रतियोगितामा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको छ । खेल संयोजक राजाराम पोखरेलले नगरस्तरीय फुटबल, भलिबल, क्रिकेट र बास्केटबल प्रतियोगितासँगै वडास्तरीय टग अफ वार, एथलेटिक्स, हाजिरीजवाफ, वक्तृत्वकला, हिज्जे प्रतियोगिता, बादविवाद, कविता वाचन तथा क्विज प्रतियोगिता सञ्चालन हुने जानकारी दिनुभयो।
महोत्सवमा विभिन्न विधाका प्रतियोगिताका विजेता विद्यार्थीहरूलाई फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ । आयोजकका अनुसार महोत्सवले विद्यार्थीको प्रतिभा उजागर गर्दै अनुशासित र स्वस्थ जीवनशैलीतर्फ आकर्षित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।










