तेस्रो घरेलु उत्पादन प्रवर्धन प्रदशर्नी तथा नृत्य प्रतियोगिता हुने
हेटौंडा / हेटौंडा उपमहानगरपालिका–१० नम्बर वडा कार्यालयको आयोजनामा तेस्रो घरेलु उत्पादन प्रवर्धन प्रदशर्नी तथा नृत्य प्रतियोगिता हुने भएको छ । आउँदो १६ र १७ गते दुईदिन हुने मेलामा घरेलु उत्पादनको प्रदशर्नी, कृषि सामाग्री तथा सांगित प्रस्तुती सहित नृत्य प्रतियोगिता आयोजना हुने भएको हो ।
बिहीबार वडा कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै हेटौंडा–१० का वडाध्यक्ष फूर्वा दोर्जे लामाले हेटौँडा उपमहानगरपालिकाको १९ वटै वडाको सहभागितामा मेलाको आयोजना हुने बताए । उनका अनुसार राजनीतिक दल, टोल विकास संस्स्था, उद्योग वाणिज्य संघ मकवानपुर, सामुदायिक वन उपभोक्ता समूह देखि हेटौँडा १० नम्बर वडाको व्राण्ड बनेको ढाका उद्यमी समूह लगाएतको सहकार्यमा मेलाको आयोजना हुनेछ ।
नगरपालिकाको साना उद्योग तथा लघु उद्यमीहरुबाट स्थानीय स्तरमा उत्पादीत वस्तुहरुको प्रवद्र्धन तथा प्रदशर्नी गर्ने तथा बजारीकरणमा सहयोग पुर्याउने उदेश्यले मेलाको आयोजना गरिएको अध्यक्ष लामाले बताए । मेलामा स्थानीय जातजाती, भेषभुषा झल्कने स्थानीय पर्यटन तथा खाना महोत्सव र सांस्कृति पहिचान झल्कने गरी नृत्य प्रतियोगिताको आयोजना हुनेछ ।
दुईदिने मेलामा घरेलु उत्पादनका लागि १ सय वटा स्टल रहने छ भने स्टल निःशूल्क उपलब्ध गराइने छ भने प्रदर्शनमा सहभागी व्यवसायीलाई सहभागीता वापत यातायातको समेत व्यवस्था गरिएको छ ।
नृत्य प्रतियोगिमा पहिलो हुनेलाई ५० हजार रुपैँया सहित सम्मान पत्र प्रदान गरिने आयोजकले जनाएको छ । दोस्रो हुनेलाई ३५ हजार रुपैँया सहित सम्मान पत्र, तेस्रो हुनेलाई नगद २० हजार रुपैँया सहित सम्मान पत्र र सान्त्वना हुने ४ जनालाई जनहप् ५÷५ हजार रुपैँयाको दरले पुरस्कृत गरिने वडाअध्यक्ष लामाले जानकारी दिए ।
यस्तै, वडामा स्थायी बसोबास भएको तथा सामुदायिक विद्यालयबाट एसईईमा ३.२५ जीपीए र माध्यामिक तहमा ३.२५ जीपीए ल्याउने विद्यार्थीहरुलाई समेत पुरस्कृत गर्ने बताइएको छ । संस्थागत विद्यालयतर्फ अध्ययन गरेर एसईईमा ३.२५ जीपीए ल्याउने र माध्यामिक तहमा ३.६५ जीपीए ल्याउने विद्यार्थीलाई पुरस्कृत गरिने छ ।
मेलाको समापन समारोहमा राष्ट्रिय खेलाडी, अटोमेकानिक मिस्त्रीलाई समेत सम्मान गर्ने बताइएको छ भने उद्यमशीलतातर्फ विभिन्न उद्यमीहरुलाई सम्मान गर्ने कार्यक्रम राखिएको अध्यक्ष लामाले बताए । मेला सम्पन्न गर्न मूल समिति र विभिन्न ६ वटा उप समितिहरु गठन गरिएको छ । कार्यक्रमको लागि ८ लाख रुपैँया लागत अनुमान गरिएको अध्यक्ष लामाले बताए ।











