एकसय शैया क्षमताको सिन्धुली अस्पतालको उद्घाटन, स्वास्थ्य सेवालाई थप प्रभाकारी बनाउने प्रदेश सरकारको प्रतिबद्धता

सबथोक न्युज
२०८२ पुष ११, शुक्रबार ११:२४

सिन्धुली । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले बागमती प्रदेश सरकारले नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भएको छ।

सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाडीमा नवनिर्मित एक सय शैया क्षमताको सिन्धुली अस्पतालको उद्घाटन गर्दै मुख्यमन्त्री बानियाले स्वास्थ्य क्षेत्रलाई प्रदेश सरकारको प्रमुख एजेन्डाका रूपमा अघि बढाइएको स्पष्ट पार्नु भयो। उहाँले नागरिकले सहज, गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा पाउनुपर्ने प्रदेश सरकारको दृढ प्रतिबद्धता रहेको उल्लेख गर्नुभयो।

कार्यक्रममा मुख्यमन्त्री बानियाले स्वास्थ्य र शिक्षा जनताको आधारभूत तथा पहिलो अधिकार भएको उल्लेख गर्दै यी दुवै क्षेत्रलाई बलियो बनाउने जिम्मेवारी राज्यको भएको बताउनु भयो। ‘स्वास्थ्य र शिक्षा जनताको पहिलो अधिकार हो। त्यसैले प्रदेश सरकारले स्थानीय सरकारसँग समन्वय र सहकार्य गरेर सेवा विस्तारमा काम गरिरहेको छ,’ उहाँले भन्नुभयो।

कार्यक्रममा वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले आफूले मन्त्रालय सम्हालेपछि अस्पताल, स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य केन्द्रको स्तरोन्नति, उपकरणको व्यवस्था र जनशक्ति व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गरेको बताउनुभयो । ग्रामीण क्षेत्रका नागरिकलाई उपचारका लागि टाढा जानु नपर्ने अवस्था सिर्जना गर्ने लक्ष्यसहित स्वास्थ्य पूर्वाधार बिस्तारको काम भइरहेको उहाँले बताउनुभयो । प्रदेशस्तरका अस्पताललाई थप सुविधा सम्पन्न बनाउने उहाँले प्रष्ट पार्नुभयो ।

नव निर्मित सिन्धुली अस्पताल सञ्चालनमा आएसँगै जिल्लावासीले सामान्य उपचारदेखि विशेषज्ञ सेवासमेत आफ्नै जिल्लामा पाउने भएका छन्। अस्पतालको उद्घाटनसँगै सिन्धुली र आसपासका जिल्लाका नागरिकलाई स्वास्थ्य सेवामा थप सहजता हुने अपेक्षा गरिएको छ।

उद्घाटन कार्यक्रममा प्रदेश सरकारका स्वास्थ्य सचिव डा.सुमित्रा गाैतम लगायतका अधिकारीहरू, स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*