गणतन्त्र गरिबको लागि काम गर्ने व्यवस्था हो : इन्द्र बानियाँ

सबथोक न्युज
२०८२ मंसिर १६, सोमबार १४:२३

हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले जनताको स्वास्थ्यलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने कुरामा प्रदेश सरकार चिन्तित रहेको बताउनुभएको छ ।

वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयको आयोजनामा हेटौँडामा भएको एक जिल्ला एक स्वास्थ्य सहर, एक स्थानीय तह एक नमुना स्वास्थ्य संस्था कार्यक्रमहरूको प्रदेश स्वास्थ्य सहजकर्ता लगायतको पैरवी, समन्वय र अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले स्वास्थ्यको अधिकार नागरिकको आधारभूत अधिकार भएको बताउनुभयो । ‘गणतन्त्र गरिबको लागि काम गर्ने व्यवस्था हो, गरिबलाई स्वास्थ्यमा पहुँच पुर्‍याउनु राज्यको दायित्व हो’, उहाँले भन्नुभयो ।

बानियाँले जनताको अन्तर्मनमा बस्ने गरी काम गर्न पनि निर्देशन दिनुभयो । ‘बोली र व्यवहारमा एकरूपता होस्’, उहाँले भन्नुभयो ।

वाग्मती प्रदेश सरकारले प्रदेशमा स्वास्थ्यको जनशक्ति उत्पादन गर्न मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरेको बताउँदै उहाँले सो प्रतिष्ठानले स्वास्थ्य क्षेत्रको जनशक्ति पुरा गर्न भूमिका खेल्ने बानियाँले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*