स्वास्थ्य क्षेत्र व्यवस्थित बनाउन तीन तहको समन्वय हुनुपर्छ : स्वास्थ्यमन्त्री थापा 

सबथोक न्युज
२०८२ मंसिर १६, सोमबार १४:१६

हेटौँडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले सीमित साधन स्रोतका कारण अस्पतालहरू सञ्चालनमा समस्या भइरहेको बताउनुभएको छ ।

बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको आयोजनामा हेटौँडामा भएको एक जिल्ला एक स्वास्थ्य सहर, एक स्थानीय तह एक नमुना स्वास्थ्य संस्था कार्यक्रमहरूको प्रदेश स्वास्थ्य सहजकर्ता लगायतकाे पैरवी, समन्वय र अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले स्वास्थ्य संस्थालाई व्यवस्थित रूपमा सञ्चालन गर्न तीनवटै तहकार सरकार बिच सहकार्य आवश्यक रहेको बताउनुभयो । ‘तीनवटै तहले स्वास्थ्य क्षेत्रमा बजेट बनाउँदा कतिपय कार्यक्रममा दोहोरोपन देखिएको छ, हामी तीनवटै तहका जनप्रतिनिधि बसेर कार्यक्रम बनाउने हो भने दोहोरोपन हुँदैन’, उहाँले भन्नुभयो ।

प्रदेश सरकारले स्वास्थ्य क्षेत्रका लागि सशर्तका बजेट पठाउँदा पनि कतिपय गाउँपालिकामा ती बजेट खर्च नभएका उहाँले बताउनुभयो । उहाँले केन्द्र, प्रदेश र संघीय सरकारले कुन कुन कार्यक्रम कसरी सञ्चालन गर्ने भन्ने योजना बनाएर कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

बागमती प्रदेश सकारले स्वास्थ्य क्षेत्रको विकासका लागि धेरै काम गरेको भए पनि त्यो अझै अपुग नै भएको उहाँले बताउनुभयो । कतिपय स्थानीय तहले सञ्चालन गरेको अस्पतालमा समेत प्रदेश सरकारले उपकरण र जनशक्ति पठाइरहेको उहाँले जानकारी दिनुभयो । त्यस्तै प्रदेश तहका अस्पतालमा सेवा विस्तार गर्दै लगिएको उहाँले सुनाउनुभयो ।

स्थानीय सरकारलाई प्राथमिकतामा राखेर कार्यक्रम र योजना बनाउनु पर्ने उहाँको धारणा छ ।‘प्रत्यक्ष भेटिने सकार स्थानीय सरकार हो, देखिने सरकार भनेको प्रदेश सरकार हो, लेखिने सरकार भनेको संघीय सरकार हो’, उहाँले भन्नुभयो ।

बागमती प्रदेश सरकारले यस वर्षबाट ५० जना डाक्टरहरू पढाउन सुरु गरेको बताउँदै उहाँले त्यहाँबाट उत्पादित डाक्टरहरू प्रदेश भित्रका स्थानीय तहका अस्पतालका डाक्टरहरू पठाइने जानकारी दिनुभयो । अहिले पनि छात्रवृत्तिबाट आएका मेडिकल डाक्टरहरूलाई प्रदेश स्वास्थ्य मन्त्रालयले गाउँका अस्पतालमा पठाइरहेको उहाँले बताउनुभयो ।

जनताको माग भौतिक पूर्वाकारको क्षेत्रमा बाढी रहेको बताउँदै अब स्वास्थ्य क्षेत्रको बजेटलाई पनि प्राथमिकतामा राख्नु पर्ने बताउनुभयो । अब स्वास्थ्य सहरको अवधारणा आएकोले यसको लागि स्वास्थ्य क्षेत्रमा लगानी बढाउनु पर्नेमा थापाले जोड दिनुभयो ।

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्वास्थ्य जनप्रतिनिधि र क्षेत्रका सरोकारवालाको सहभागिता रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*