महिनावारी भएको बेला छाउगोठमा बस्दा सर्पले डसेर महिलाको निधन भएको प्रति अनेमसंघको ध्यानाकर्षण

संवाददाता
२०८२ असार ३१, मंगलवार १३:२७

हेटौंडा । महिनावारी भएको बेला छाउगोठमा बस्दा सर्पले डसेर महिलाको निधन भएको प्रति अनेमसंघले ध्यानाकर्षण भएको जनाएको छ ।
कञ्चनपुर जिल्ला कृष्णपुर नगरपालिका वार्ड नं.१ की २८ वर्षिया महिला कमला आउजीको छाउगोठमा सर्पले टोकेर निधन भएपछि संघले यस्तो ध्यानाकर्षण जनाएको हो । आउजीको २७ असारमा निधन भएको थियो ।
“छाउगोठमा सर्पको टोकाइले अकालमा मृत्यूवरण गर्नुपरेको घटनाले अखिल नेपाल महिला संघलाई स्तव्ध तुल्याएको भन्दै अनेमसंघ कैलाली जिल्ला ईञ्चार्ज रुकमणी देवकोटाले विज्ञप्ति मार्फत संघको ध्यानाकर्षण जनाउनु भएको हो ।
कानुनतः अवैध मानिएको छाउपडी प्रथा अझै पनि सुदूरपश्चिमका पहाडी र तराई जिल्लाहरुमा नारीहरुको लागि अभिश्रापको रुपमा रहेको अनेमसंघ कैलाली जिल्ला ईञ्चार्ज देवकोटाले विज्ञाप्तिमा भन्नुभएको छ ।
“मौलिक र मानव अधिकार उल्लङ्घन मात्र होइन राज्यको कानुनको खिल्ली उडाउने गरि संस्कारको नाममा यस्ता कुरीतिहरु समाजमा कायम रहनु अत्यन्तै दुःखद कुरा हो” विज्ञप्तिमा भनिएको छ ।
अनेमसंघले कमलाको निधनप्रति गहिरो शोक प्रकट गर्दै उनका ३ अबोध सन्तानहरुको पालनपोषण र शिक्षादीक्षाको लागी सम्बन्धित निकायस“ग माग गरेको छ ।
कुरीति र अन्धविश्वासलाई पूर्णतः नकार्दै र आफ्ना सम्पूर्ण तहका महिला दिदीबहिनीहरुलाई छाउगोठलगायत अन्य कुप्रथा बिरुद्व लाग्न अनेमसंघले अपिल गर्दछ ।
सभ्य र समतामूलक समाज आधुनिक युगको अपरिहार्यता हो । कुरीति र कुसंस्कार विकास र समृद्धिको वाधक हुन् । कुरीति र कुप्रथा बिरुद्व सबै एकजुट हुनुपर्ने बेला आएको विज्ञप्तिमा उल्लेख छ । कुनैपनि नारी कुप्रथाको शिकार भई शोषणमा पर्ने, हेपिने, दुर्व्यवहारको शिकार हुने र अकालमा मृत्युवरणसम्म गर्नुपर्ने प्रवृत्तिको अन्त्यको लागि सबैको तर्फबाट पहल आवश्यक भएको अनेमसंघले जनाएको छ ।
सोचाईं र व्यवहारमा परिवर्तन ल्याई कुप्रथा र सबैखाले शोषणको अन्त्य गर्न अनेमसंघले अहम् भूमिका खेल्ने कुरामा प्रतिवद्धता जनाउ“दै यस्ता दुःखद घटना हुन नदिन पहलकदमीको लागी अनेमसंघले राज्यका सम्पूर्ण निकाय, संघ संस्था, राजनैतिक पार्टीलगायत सम्पूर्ण नागरिक समाजलाई आह्वान गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*