नेता थपलियाद्वारा नयाँ वर्षको शुभकामना व्यक्त
हेटौंडा । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका नेता तथा पूर्व मन्त्री जगन्नाथ थपलियाले नयाँ वर्ष २०८२ सालको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।
थपलियाले एक सन्देश जारी गर्दै नयाँ वर्षलाई आशा, उत्साह, ऊर्जा र संकल्पको समयको रूपमा उल्लेख गर्दै पुरानो वर्षका अनुभव, सिकाइ र चुनौतीहरूबाट पाठ सिक्दै नयाँ वर्षमा अझ दृढताका साथ अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन्।
“प्रदेशको समावेशी विकास, बजेटको प्रभावकारी कार्यान्वयन, दिगो पूर्वाधार निर्माण, रोजगारीमूलक योजना र समृद्धिमुखी कार्यक्रममार्फत जनताको जीवनस्तर उकास्ने हाम्रो संकल्पलाई अझ दृढ बनाउँदै लैजानुपर्छ,” थपलियाको सन्देशमा उल्लेख गरिएको छ।
उनले पार्टी नेकपा (एमाले) ले ‘देश बनाउने, जनताको भरोसा जित्ने’ अभियानलाई नेतृत्वदायी रूपमा अघि बढाइरहेको बताउँदै, सरकारमा सहकार्यको भूमिका निर्वाह गर्दै जनपक्षीय योजना र नीतिहरू अघि बढाइरहेको जानकारी दिएका छन्।
थपलियाले नीति, योजना र बजेटमा जनताको अभिमत प्रतिबिम्बित हुनु पर्नेमा जोड दिँदै, सबैलाई विश्वास, सहकार्य र सहिष्णुताको भावना राख्दै समावेशी र समृद्ध बागमती प्रदेश निर्माणतर्फ लाग्न आह्वान गरेका छन्।
“समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य प्राप्तिका लागि यो नयाँ वर्ष प्रेरणादायी चरण बन्न सकोस्,” थपलियाले उल्लेख गरेका छन् ।सन्देशको अन्त्यमा उनले आफ्ना निर्वाचन क्षेत्र चितवन १(१) का मतदातासहित सम्पूर्ण नेपालीहरूलाई सुस्वास्थ्य, दीर्घायु, सफलता र समृद्धिको कामना गरेका छन्।











