अध्यक्ष दाहालको टिप्पणी: संसदलाई वेवास्ता गर्दै अध्यादेश ल्याउनु सरकारको निरङ्कुश कदम
पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकारको अलोकतान्त्रिक र निरङ्कुश शैलीको कडा आलोचना गर्नुभएको छ। मंगलबार काठमाडौंमा समाजवादी मोर्चा नेपालले आयोजना गरेको विचार सभालाई सम्बोधन गर्दै उहाँले संसदमा रहेको विधेयक फिर्ता नगरी अध्यादेश ल्याउनु स्वेच्छाचारी कदम भएको टिप्पणी गर्नुभयो।
उहाँले सरकार जनताको इच्छा र संसदको मर्यादाविपरीत काम गरिरहेको भन्दै विपक्षी दलहरूले सामूहिक रूपमा यसको प्रतिरोध गर्ने बताउनुभयो। “सरकारले अलोकतान्त्रिक र निरङ्कुश शैलीमा अध्यादेश ल्याएको छ। संसदमा रहेका विधेयकहरू फिर्ता नलिईकन यसरी अध्यादेश ल्याउनु स्वेच्छाचारी कदम हो,” उहाँले भन्नुभयो।
अध्यक्ष दाहालले वर्तमान सरकारले भ्रष्टाचारलाई संरक्षण गर्दै, आफ्ना समर्थकलाई जोगाउन र राजनीतिक विरोधीलाई कमजोर बनाउने काम गरिरहेको आरोप लगाउनुभयो। “जनताको हितविपरीतको नीति र राष्ट्रविरोधी कार्यले मुलुकमा आर्थिक संकट थप बढाएको छ,” उहाँले थप्नुभयो।
उहाँले संविधान मिचेर संसद विघटन गर्ने र मजदुर-किसानको अधिकार खोस्ने प्रयासलाई रोक्न सबै दल र जनताले एकजुट भएर लड्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले समाजवादी क्रान्तिको विकल्पमा नयाँ दृष्टिकोण आवश्यक रहेको र माओवादी केन्द्रले संविधानको उपलब्धिलाई थप परिमार्जन गर्दै समाजवादतर्फ अघि बढ्नुपर्ने बताउनुभयो।
“देशको वर्तमान राजनीतिक परिस्थिति प्रतिगमनतर्फ उन्मुख देखिन्छ। ठूला भनिएका राजनीतिक दलहरू र तिनका नेताहरू संविधानका लक्ष्यहरूलाई पछाडि धकेल्न सक्रिय देखिन्छन्,” उहाँले भन्नुभयो।
अध्यक्ष दाहालले आफू नेतृत्वको सरकारले भ्रष्टाचारविरोधी अभियान सञ्चालन गरेको तर यथास्थितिवादी र प्रतिगामी शक्तिहरूको विरोधका कारण सरकार ढालिएको उल्लेख गर्नुभयो। उहाँले भ्रष्टाचार र कुशासनको विरोध गर्दै मुलुकलाई आर्थिक रूपमा उकास्ने प्रयास गरेको तर सरकार टिक्न नसकेको धारणा राख्नुभयो।
उहाँले राजनीतिक परिवर्तनलाई उल्ट्याउनका लागि भइरहेका प्रयासहरूको कडा प्रतिरोध गर्न आवश्यक रहेको र यसका लागि संसद र सडक दुवै मोर्चाबाट संघर्ष गर्नुपर्नेमा जोड दिनुभयो।











